पाकिस्तान भर्सेस नेपालः सजिलै जित्ने पाकिस्तानको लक्ष्य, स्तब्ध पार्ने दाउमा नेपाल

सफल खबर संवाददाता

मंगलबार, १२ भदौ २०८०, १६ : ०८
पाकिस्तान भर्सेस नेपालः सजिलै जित्ने पाकिस्तानको लक्ष्य, स्तब्ध पार्ने दाउमा नेपाल

काठमाडौं। एसिया कप क्रिकेट २०२३ बुधवारदेखि पाकिस्तानमा शुरू हुँदैछ । पहिलो खेलमा नवप्रवेशी नेपालले बलियो पाकिस्तानको सामना गर्नेछ । यो खेल पाकिस्तानको पञ्जाबस्थित मुल्तान क्रिकेट मैदानमा हुनेछ ।समूह  ‘ए’मा नेपालसहित पाकिस्तान र भारत छन् ।

 

नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेलमा सेप्टेम्बर ७ मा भारतको सामना गर्नेछ । नवप्रवेशी नेपालले भारत पाकिस्तानजस्ता ठूला टोलीसँग खेल्न पाएको छ । यसलाई अनुभव लिने ठूलो अवसरको रुपमा लिइने नेपाली टोलीका कप्तान रोहित पौडेलले बताएका छन् ।

 

भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेका कारण हाइब्रिड मोडलमा सहमति भएपछि खेल श्रीलङ्कामा पनि हुने तय भएको हो । गत साता अफगानिस्तानसँगको सिरिज ३–० ले हराएर पाकिस्तान एकदिवसीय वरीयतामा विश्व नम्बर एक बनेको छ । पाकिस्तान बाबर आजमको कप्तानीमा मैदानमा उत्रने छ । दुई पटक एसिया कप उपाधि उचालेको पाकिस्तानी टिममा तीव्र गतिका बलर शहिन शाह अफ्रिदी र नामुद विकेटकिपर मोहम्मद रिजवानलगायत खेलाडी छन् । 

 

यसर्थ, उसले बुधवार नेपाललाई सजिलै जित्ने लक्ष्य राखेको छ । यता, नेपाल पनि बलियो पाकिस्तानलाई स्तब्ध बनाउन चाहन्छ । नेपालसँग पनि सन्दीप लामिछानेजस्ता ग्लोबल स्टार छन् । विश्वका अधिकांश क्रिकेट पण्डितहरूले उदाउदो नेपाललाई कम नआँक्न पाकिस्तानलाई सजग गराइरहेका छन् । हुन पनि पछिल्लो समय नेपालले राम्रो नतिजा ल्याउँदै आएको छ । नेपाल पहिलोपटक विश्वकपको ग्लोबल छनोटमा समेत पुगेको थियो । 

एसिया कप यो वर्ष ५० ओभरको हुनेछ । श्रीलङ्काले एक वर्षअघि टी–२० ढाँचामा जितेको थियो । भारतमा आगामी अक्टोबरमा हुने विश्वकप प्रतियोगिताअगाडि एसियाका दिग्गज खेलाडी एकअर्काको नाडीछाम्न पाकिस्तान र श्रीलङ्कामा भिड्दै छन् । प्रत्येक समूहका शीर्ष दुई टोलीले सेप्टेम्बर १७ मा कोलम्बोमा हुने फाइनल स्पर्धा गर्नेछन् भने शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । 

क्रिकेटको पावरहाउस भारत सबैभन्दा धेरै एसिया कप जितेको छ ।  आठौं उपाधिको लागि एकदिवसीय वरीयतामा तेस्रो स्थानमा रहेको भारतलाई कप्तान रोहित शर्माले पुनः जितको स्वाद चखाउने प्रयास गर्नेछन् । उनलाई विराट कोहलीजस्ता दक्ष ब्याट्सम्यान, अलराउन्डर हार्दिक पाण्ड्या, द्रुत गतिका बलर जसप्रित बुमराह लगायतको साथ रहने छ । 

प्रतिक्रिया दिनुहोस