केएल राहुलले नेपालविरुद्धको खेल गुमाउने

सफल खबर संवाददाता

मंगलबार, १२ भदौ २०८०, १५ : १०
केएल राहुलले नेपालविरुद्धको खेल गुमाउने

मुम्बई । भारतीय क्रिकेट टोलीका पहिलो रोजाइका विकेटकिपर ब्याट्सम्यान केएल राहुलले एसिया कपको पहिलो दुई खेल गुमाउने भएका छन् । मुख्य प्रशिक्षक राहुल द्रविडले पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै राहुलले पाकिस्तान र नेपालविरुद्धको खेल गुमाउने बताएका हुन् ।

राहुलको फिटनेसमा सुधार भए पनि सेप्टेम्बर २ मा हुने पाकिस्तान र सेप्टेम्बर ४ मा हुने नेपालविरुद्धको समूह चरणको खेलका लागि भने उनी उपलब्ध नहुने द्रविडको भनाई छ । दुवै खेल पालेकेलमा हुँदैछ ।एसिया कपका लागि टोली घोषणा हुँदा राहुल ‘कन्डिसनल्ली फिट’ मात्र भनिएको थियो । आईपीएल २०२३ मा सहभागी हुँदा उनको खुट्टामा चोट लागेको थियो । यसका लागि उनले शल्यक्रिया नै गर्नुपरेको थियो । 

बैंग्लुरुको नेसनल क्रिकेट एकेडेमीमा मेडिकल टिमले उनको मूल्याङ्कन गर्दा राहुलको ब्याटिङको प्रशिक्षणमा सन्तुष्ट भए पनि उनको विकेटकिपिङमा अझै सुधार गर्नुपर्ने देखिएको थियो । गत हप्ता एकेडेमीमा आयोजना गरिएको अभ्यास खेलपछि उनले केही समस्या देखिएको बताएका थिए । राहुलको स्थानमा भारतसँग ईशान किसन र सञ्जु स्यामसन वैकल्पिक खेलाडीका रूपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस