आजदेखि भैरहवाबाट काठमाडौं हुँदै दिल्ली र हङकङ हवाई उडान शुरू

सफल खबर संवाददाता

मंगलबार, १२ भदौ २०८०, १४ : १८
आजदेखि भैरहवाबाट काठमाडौं हुँदै दिल्ली र हङकङ हवाई उडान शुरू

काठमाडौं। नेपाल वायुसेवा निगमले आजदेखि भैरहवा–दिल्ली र भैरहवा–हङकङ हवाई उडान शुरु गरेको छ ।आजबाट शुरु भएको नेपाल एयरलाइन्सको भैरहवा–दिल्ली र भैरहवा–हङकङको उडान यात्रुविहीन भएको छ । एयरलाइन्सले भैरहवाबाट काठमाडौं हुँदै दिल्ली र हङकङका लागि आजबाट उडान सुरु गरेको हो । 

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार नेपाल एयरलाइन्सको विमान मलेसियाबाट साताको एक पटक भैरहवा आउने विमानमार्फत काठमाडौं हुँदै दिल्ली र हङकङको उडान शुरु गरिएको हो ।

आजको उडानमा भैरहवा विमानस्थलबाट कुनै पनि यात्रु विमानमा नचढेको पाण्डेले जानकारी दिए । हङकङ जाने यात्रुलाई काठमाडौं हुँदै गन्तव्यमा पुर्‍याइन्छ भने दिल्ली जाने यात्रुलाई काठमाडौं विमानस्थलमा कनेक्टिङ फ्लाइटमार्फत गन्तव्यमा पठाइन्छ । 

महाप्रबन्धक पाण्डेले आजको उडानमा भैरहवा विमानस्थलबाट कुनै पनि यात्रु विमानमा नचढेको जानकारी दिए । उक्त रुटका लागि निगमले भदौ १० गतेदेखि टिकट बुकिङ खुल्ला गरेको थियो । 

नेपाल वायुसेवा निगमले मलेसिया–भैरहवा रुटमा गत जेठ ३० गतेबाट उडान शुरु गरेको थियो । त्यसयता निगमले उक्त रुटमा १२ वटा उडान गरिसकेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विसं २०७९ जेठ २ गतेबाट सञ्चालनमा आएको हो ।

प्रतिक्रिया दिनुहोस