गाई-गोरुको हत्या गर्नेलाई अविलम्ब कानुनी दायरामा ल्याउन मधेसी आयोगको माग

सफल खबर संवाददाता

आइतबार, १० भदौ २०८०, १६ : ०२
गाई-गोरुको हत्या गर्नेलाई अविलम्ब कानुनी दायरामा ल्याउन मधेसी आयोगको माग

काठमाडौँ । गाई-गोरु हत्या गरी सार्वजनिक भोजको आयोजना गर्नेलाई अविलम्ब कानुनी दायरामा ल्याई कारबाही गर्न मधेसी आयोगले सरकारसहित सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ ।

आयोगले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सुनसरीको धरानमा गाई/गोरुको हत्या गरी सार्वजनिक रूपमा भोज आयोजना गर्ने क्रियाकलाप संविधान विपरीत रहेको बताउँदै दोषीलाई तुरुन्त कानुनी कारबाही गरी सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न सम्बन्धित सबै पक्षलाई ध्यानाकर्षण गराएको हो ।

 

आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा संविधानमै गाईलाई राष्ट्रिय जनावर उल्लेख गरिएको हुनाले सो कुरालाई सबै जात-जाति तथा धर्मका मान्छेहरूले सम्मान गर्नुपर्ने समेत बताएको छ । आयोगले राष्ट्रिय जनावरको हत्या गर्नु भनेको संविधान माथि नै प्रहार गर्नु सरह भएको हुनाले त्यस्ता संविधान विपरीत कार्य गर्ने जो-कोहिलाई पनि यथाशीघ्र कारबाही गर्नुपर्ने कुरा माथि जोड दिएको छ ।

आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले सुनसरी घटनालाई आयोगले गम्भीरतापूर्वक हेरिरहेको र सो घटनाको दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आयोगले आवश्यक पहल गर्ने समेत बताएका छन् । 

प्रतिक्रिया दिनुहोस