स्वचालित प्रणालीबाट तारिख व्यवस्थापन गर्ने प्रधान न्यायाधीश श्रेष्ठको पहिलो निर्णय

सफल खबर संवाददाता

मंगलबार, ०५ भदौ २०८०, २० : २५
स्वचालित प्रणालीबाट तारिख व्यवस्थापन गर्ने प्रधान न्यायाधीश श्रेष्ठको पहिलो निर्णय

काठमाडौँ । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पदबहाली गरेलगत्तै स्वचालित प्रणालीबाट पेशी तथा तारिख व्यवस्थापन गर्ने निर्णय गरेका छन् ।

मङ्गलवार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि उनी सर्वोच्च अदालत पुगेर पदबहाल गरेका थिए । पदबहाल लगत्तै उनले स्वचालित प्रणालीबाट तारिख व्यवस्थापन गर्ने निर्णय गरेका हुन् ।

मुद्दाका पक्षहरूले कहिले तारिख लिने भन्नेबारेमा यसअघि कर्मचारीहरूले नै निर्णय गर्ने व्यवस्था थियो’ सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले भने, ‘अब स्वचालित प्रणालीले नै तारिख तोक्नेछ । मुद्दाको प्रकृति, सम्बन्धित दिनमा मुद्दाको चाप, मुद्दाको पालो आउने बार लगायतका आधारमा स्वचालित प्रणालीले आफै तारिखको दिन तोक्नेछ ।’

मुद्दाको तारिख दिने क्रममा कतिपय सेवाग्राहीले गुनासो र शङ्का गर्थे । स्वचालित प्रणाली सुरु गरेपछि त्यो पनि कम हुने अपेक्षा रहेको प्रवक्ता पौडेलले बताए ।

गोला प्रक्रियाबाट इजलास चयन र मुद्दा तोक्ने पद्धति भने यथावत रहेको उनले बताए । सर्वोच्च अदालतले सफ्टवेयरबाट मुद्दा व्यवस्थापन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस