इन्जिनियरिङ पढ्ने शुल्क बढाएर ७ लाख ७४ हजार पुर्‍याइयो

सफल खबर संवाददाता

मंगलबार, ०५ भदौ २०८०, ११ : १८
इन्जिनियरिङ पढ्ने शुल्क बढाएर ७ लाख ७४ हजार पुर्‍याइयो

काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थाले चार वर्षे स्नातक तहको शुल्कमा भारी मात्रामा वृद्धि गरेको छ । चार वर्षे बीई तथा बी आर्कतर्फको शुल्कमा भारी मात्रामा वृद्धि गरेको हो ।संस्थानको कार्यान्वयन समितिको साउन २५ गतेको निर्णयअनुसार शुल्क वृद्धि गरिएको संस्थानले जनाएको छ ।

वृद्धि गरिएको शुल्कबाट संस्थानले सोमबार राति मात्रै सार्वजनिक गरेको थियो। बढाइएको शुल्क अनुसार अब पूर्ण शुल्कीय तर्फ चार वर्षको ७ लाख ७५ हजार ४२० रुपैयाँ तोकिएको छ । त्यस्तै नियमित तर्फ ८२ हजार ७२० रुपैयाँ पुर्‍याइएको छ ।यसअघि नियमित तर्फको ३५ हजार रुपैयाँ शुल्क तोकिएको थियो ।

भने पूर्ण शुल्कीय तर्फ ३ लाख ३० हजार रुपैयाँ थियो । अहिले आएर संस्थानले २३५ प्रतिशतले शुल्क बढाइएको हो ।  आईओईका डीन प्राडा शसिधर राम जोशीले लामो समयदेखि शुल्क नढाइएकाले अहिले बढाएको बताए । शुल्क बढाउने विषयमा सुशिल ब्रर्जाचार्यको संयोजकत्वमा समिति गठन गरेको थियो । उक्त समितिले आईओई अन्तर्गतका ५ वटै आङ्गिक क्याम्पसमा अध्ययन गरेको थियो । उक्त समितिले शुल्क बढाउन सिफारिस गरेको थियो । 

यसअघि २०५३ सालमा उक्त शुल्क तोकिएको थियो । त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतका दरले शुल्क बढ्ने भन्ने थियो । तर, हालसम्म शुल्क बढ्न सकेको थिएन ।संस्थानले २७ वर्षपछि पहिलो पटक शुल्क बढाएको हो ।  अहिलेको शुल्कमा कलेज चलाउनै नसकिने अवस्था आएपछि बढाउनुपरेको उनको भनाई छ । यसका लागि एक वर्षदेखि नै गृहकार्य गरिएको उनको भनाई छ । 

त्रिभुवन विश्वविद्यालयले संस्थानलाई बजेट दिन नसकिने बताउँदै आएको छ । जसले गर्दा हालको शुल्कमा विद्यार्थीलाई पढाउन सकिने अवस्था नरहेपछि बढाइएको बताए ।  संस्थानअन्तर्गत पुल्चोक इन्जिनियरिङ कलेज, पूर्वाञ्चल कलेज, पश्चिमाञ्चल कलेज, थापाथली कलेज र चितवन कलेज गरेर ५ वटा आङ्गिक कलेजहरू छन् । भने सम्बन्धन लिएर १० वटा निजी कलेजहरूले इन्जिनियरिङ तर्फका स्नातक तह र स्नातकोत्तर तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।  

संस्थानले शुल्क बढाएको विषयमा विद्यार्थी सङ्गठनहरूले भने आपत्ति जनाएका छन् । उनीहरूले विज्ञप्ति जारी गर्दै तत्काल बढाइएको शुल्क फिर्ता लिन आग्रह गरेका छन् ।स्ववियु थापाथली क्याम्पसले बढाएको शुल्क सार्वजनिक गरेसँगै विरोध प्रदर्शन थालेको छ । स्ववियु सभापति पुष्कर विक्रम शाहीले तत्काल बढाइएको शुल्क फिर्ता लिनुपर्ने बताए । २४ घण्टाभित्र बढाएको शुल्क फिर्ता नलिए चर्को आन्दोलन गर्ने उनको चेतावनी छ । 

त्यस्तै नेकपा समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले समेत मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । अध्यक्ष सुदेश पराजुलीले शिक्षाको सम्पूर्ण दायित्व राज्यले लिनुपर्नेमा शुल्क बढाएर स्वदेशमै प्राविधिक शिक्षा अध्ययन गर्न पाउने समाजवाद उन्मुख राज्यमा बहुसंख्यक जनतालाई यो अवसरबाट वञ्चित गराउने कार्य गरिएको भन्दै आपत्ति जनाए ।त्यस्तै अनेरास्ववियुले समेत बढाएको शुल्क तत्काल फिर्ता लिनुपर्ने माग राखेको छ । अध्यक्ष समिक बडालले बढाएको शुल्क फिर्ता नलिए सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

 

प्रतिक्रिया दिनुहोस