नेपाली क्रिकेट टीम भोलि पाकिस्तान जाँदै

सफल खबर संवाददाता

मंगलबार, ०५ भदौ २०८०, ११ : २४
नेपाली क्रिकेट टीम भोलि पाकिस्तान जाँदै

काठमाडौं । एसिया कप क्रिकेटका लागि नेपाली क्रिकेट टीम भोलि पाकिस्तानतर्फ प्रस्थान गर्ने भएको छ । आज नेपाल क्रिकेट संघ (क्यान) ले टीमलाई बिदाइ गर्दैछ । एसिया कप आउँदो १३ गतेबाट सुरु हुने भए पनि पाकिस्तानमा केही अभ्यास म्याच खेल्न नेपाली टीम चाँडै जान लागेको हो । एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्दैछन् ।

नेपाली टीमका स्टार स्पिनर सन्दीप लामिछाने भने भोलि पाकिस्तान नजाने भएका छन् । १७ सदस्यीय स्क्वाडमा भए पनि उनी बन्द प्रशिक्षणमा सहभागी भएका छैनन् । उनको मुद्दामाथिको फैसलामा ढिलाइ भएपछि सन्दीपले एसिया कप खेल्ने/नखेल्ने अनिश्चित बनेको हो । गत साउन ३२ गते पेशी तोकिएको भए पनि न्यायाधीशले सुनवाइ स्थगित गरिदिएका थिए ।

अदालतबाट सफाइ पाएर एसिया कप खेल्न जाने मनस्थितिमा रहेका सन्दीप फैसला पछि धकेलिएपछि तनावमा परेका छन् । निकट स्रोतका अनुसार उनले एसिया कप खेल्ने/नखेल्ने दुई–तीन दिनमा निधो हुने छ । क्यानले भने उनी जसरी पनि एसिया कप खेल्न जानुपर्नेमा जोड लगाइरहेको छ ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप केही अस्वस्थ भएकाले बन्द प्रशिक्षणमा सहभागी नभएको बताए । भोलि टिमसँग नगए पनि उनले एसिया कप खेल्ने चन्दको विश्वास छ । ‘हामी सन्दीपसँग कुरा गर्दैछौं । उसले जस्तो परिस्थितिमा पनि देशका लागि खेल्नैपर्छ र खेल्छ भन्ने विश्वास छ,’ चन्दले भने ।

आज नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरू पशुपतिनाथ मन्दिरमा पुगेर आशीर्वाद लिएका छन् । सन्दीप भने गएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस