मन्त्रालय अनुगमन गर्ने सफ्टवेयर बनाउँदै प्रधानमन्त्री कार्यालय

पत्रपत्रिकाबाट

मंगलबार, २९ साउन २०७५, ०८ : ३७
मन्त्रालय अनुगमन गर्ने सफ्टवेयर बनाउँदै प्रधानमन्त्री कार्यालय

मन्त्रालयहरूको हरेक दिनको कार्यप्रगति अनुगमन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सफ्टवेयर विकास गर्ने भएको छ । उक्त सफ्टवेयरमार्फत राष्ट्रिय गौरवका आयोजना र अन्य महत्वपूर्ण कामको अनुगमन हुनेछ । सफ्टवेयरका लागि प्राविधिक छनोटको काम भइरहेको नतिजा व्यवस्थापन महाशाखा हेर्ने सचिव केदारबहादुर अधिकारीले जानकारी दिए ।

मन्त्रिपरिषद्को कार्यालयले बनाउन लागेको सफ्टवेयरमा हरेक दिन मन्त्रालयले दिनभरि भएको कामको विवरण अपडेट गर्नुपर्नेछ । हरेक मन्त्री, सचिवलाई उक्त सफ्टवेयरमा पहुँच पु-याइने र त्यसमा मन्त्री, सचिव, राष्ट्रिय गौरवका आयोजना प्रमुखले विवरण अपडेट गर्नेछ । त्यसरी अपडेट भएको विवरण प्रधानमन्त्री कार्यालयबाटै हेर्न सकिनेछ ।

सफ्टवेयरमार्फत हुने अनुगमनका क्रममा कुनै आयोजनामा प्राविधिक समस्या आए सचिव नेतृत्वको मन्त्रिपरिषद्को कार्यालयले समस्या समाधानका लागि प्रयास गर्छ । ‘सचिवस्तरबाट समस्या समाधान नभए मन्त्रीस्तरबाट समाधानको प्रयास हुनेछ । त्यहाँबाट पनि समस्याको समाधान नभएमा प्रधानमन्त्रीको अध्यक्षमा रहेको समस्या समाधान समितिले सल्टाउनेछ,’ सचिव अधिकारीले भने ।

उनका अनुसार अबको दुई महिनापछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हरेक मन्त्रालयले गरेको कामको अनुगमन सुरु गर्नेछ । भर्खरै मन्त्रालयले वार्षिक कार्ययोजना पेस गरेकाले कार्ययोजनाअनुसार काम थाल्ने समयको रूपमा दुई महिना दिइएको हो । त्यसपछि मन्त्रालयको कामको अनुगमन र समीक्षा हुने सचिव अधिकारीको भनाइ छ ।

संविधान संशोधन तत्काल अगाडि नबढ्ने
प्रधानमन्त्री केपी ओलीले तत्काल संविधान संशोधन प्रक्रिया अगाडि नबढ्ने बताएका छन् । राजपाको अध्यक्षमण्डलका सदस्यहरूसँगको आइतबार भएको भेटमा प्रधानमन्त्री ओलीले त्यस्तो संकेत गरेका हुन् । उनले संविधान संशोधनबारे मन्त्रिपरिषद्मा छलफल गरेर जानकारी गराउने बताए ।

पहिलो चरणमा संशोधन गर्न सकिने बुँदाबारे छलफल गरी टुंगोमा पुग्ने भन्दै प्रधानमन्त्री ओली राजपा नेताहरूलाई सरकारमा आउन आग्रह गरेका थिए । प्रधानमन्त्रीसँगको छलफलमा सहभागी राजपा नेताका अनुसार प्रधानमन्त्रीले सरकार पुनर्गठन गर्न सकिने भन्दै आउन आग्रह गरेका हुन् । संयोजक महन्थ ठाकुरको नेतृत्वमा राजपा मण्डलका सदस्यहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

 

प्रतिक्रिया दिनुहोस