गरिबका अपार्टमेन्ट मुख्यमन्त्रीलाई

पत्रपत्रिकाबाट

मंगलबार, २९ साउन २०७५, ०८ : ०५
गरिबका अपार्टमेन्ट मुख्यमन्त्रीलाई

काठमाडौं । सरकारले सहरी गरिब, सुकुम्बासी तथा न्यून आय भएका परिवारका लागि बनाइएको अपार्टमेन्टमा मुख्यमन्त्री र प्रदेश प्रमुखलाई राख्ने तयारी गरेको छ ।

नागार्जुन नगरपालिकाको इचंगुनारायणमा २०७० मा निर्मित अपार्टमेन्टमा मुख्यमन्त्री र प्रदेश प्रमुखको ‘अस्थायी आवास’ बनाउन लागिएको हो । आजको कान्तिपुरको पृष्ठ ३ मा यो समाचार छापिएको छ ।

केही दिनअघि गृहसचिव प्रेमकुमार राई, सहरी विकास सचिव दीपेन्द्रनाथ शर्मा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल र उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले ती अपार्टमेन्टको निरीक्षण गरिसकेका छन् ।

'गरिबीको  रेखामुनि रहेका र अव्यवस्थित तथा असुरक्षित बस्तीमा बसोबास गरेका परिवारसमेत समेटी आवास अवधारणा विकसित गर्ने' उद्देश्यले सरकारले अपार्टमेन्ट बनाएको थियो ।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईका पालामा वाग्मती नदी किनारका सहरिया गरिबलाई लक्षित गरी बनाइएका ती अपार्टमेन्ट प्रयोगविहीन थिए । सहरी गरिब तथा न्यून आय वर्गका परिवार पहिचान गर्न गाह्रो भएपछि सरकारले त्यहाँ कसैलाई राख्न सकेको थिएन ।

लामो समयदेखि खाली रहेका अपार्टमेन्टमा सरकारले ७ वटै प्रदेशका मुख्यमन्त्री तथा प्रमुखलाई काठमाडौं आउँदा बस्ने व्यवस्था गर्न लागेको जानकारी उपत्यका विकास प्राधिकरणका प्रमुख तिवारीले दिए ।

प्रतिक्रिया दिनुहोस