रिद्धिसिद्धि सिमेन्टको छात्रवृत्ति कार्यक्रमबाट ११ विद्यार्थी लाभान्वित

सफल खबर संवाददाता

शनिबार, ०२ भदौ २०८०, ०७ : १७
रिद्धिसिद्धि सिमेन्टको  छात्रवृत्ति कार्यक्रमबाट ११  विद्यार्थी लाभान्वित

काठमाडौं।  रिद्धि सिद्धि सिमेन्टले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपूर जिल्लालाई लक्षित गरी आयोजना गरेको “मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०” को छात्रवृत्ति कार्यक्रम सम्पन्न भएको छ । जसबाट ११ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । 

रोबोटिक ल्याबमा बनेको स्मार्ट सिमेन्ट रिद्धि सिद्धि सिमेन्टले आयोजना गरेको छात्रवृत्ति कार्यक्रममा १०९ विद्यार्थीहरु सहभागी भएका थिए । एस.ई.ई परीक्षामा उपलब्ध अङ्क, दौड प्रतियोगिता साथै आईक्यू परीक्षामा सोधिएका सम्पूर्ण अंकहरु जोडी छात्रवृत्तिका लागि उत्कृस्ट ११ स्मार्ट विद्यार्थीहरु छनोट गरिएको थियो  । 

छात्रवृत्ति कार्यक्रम अन्तर्गत कम्पनीले प्रथम हुने विद्यार्थीलाई मासिक रुपमा रु. ५०००, दोश्रो हुनेलाई रु. ३५००, तेश्रो हुनेलाई रु. २५०० साथै सान्त्वना स्वरुप थप ८ विद्यार्थीलाई मासिक रुपमा रु.१५०० एक वर्षसम्म उपलब्ध गराउने निर्णय अनुरुप मकवानपुरका ११ जना विद्यार्थीहरु छात्रवृत्तिमा छनोट भएको कम्पनीले जनाएको छ । 

छात्रवृत्तिको प्रथम पुरस्कार पाउनेमा ईशान्त कुमार मिश्र, दोस्रोमा अंशु कुमारी र तेस्रोमा रिजन कठायत रहेका छन् भने सान्त्वना पुरस्कार पाउने विद्यार्थीहरुमा शिवम् पटेल, भुषण दाहाल, भोला कुमार साह कलवार, सुयोग अर्याल, दिपेश चौलागाईं, मनिषा कुमारी खड्का, जिज्ञासा पौडेल र विजय मोक्तान  रहेका छन् ।

प्रतिक्रिया दिनुहोस