चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय चासो

रासस

शुक्रबार, ०१ भदौ २०८०, ११ : १५
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय चासो

चितवन । आर्थिक वर्ष २०७९-०८० को साउनदेखि जेठसम्ममा चितवन राष्ट्रिय निकुञ्जमा २ लाख ८८ हजार ३ सय ५९ जना पर्यटकले भ्रमण गरेका छन् । यीमध्ये १ लाख ९८ हजार ८ सय २६ आन्तरिक अर्थात् नेपाली पर्यटक रहेका छन् भने ३५ हजार ८ सय ३६ सार्क मुलुकका पर्यटक रहेका छन् । त्यस्तै गरेर अन्य मुलुकका २९ हजार ५ सय ७६ जना पर्यटकले चितवन राष्ट्रिय निकुञ्जमा भ्रमण गरेका छन् ।

साथै, उक्त अवधिमा चितवन राष्ट्रिय निकुञ्जमा २ लाख ८८ हजार ३ सय ५९ पर्यटकले प्रवेश गरेबापत तिरेको राजस्व रकममात्रै १७ करोड ३० लाख ३ हजार ९ सय संकलन भएको छ । हुन त कोरोना महामारी मत्थर भएपछि नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या जसरी बढ्दै गएको देखिन्छ, त्यसरी नै आन्तरिक रूपमा नेपालको विभिन्न पर्यटकीय स्थलमा भ्रमण गर्न निक्लने स्वदेशी पर्यटकको संख्या पनि कोरोना महामारीको समयमा भन्दा धेरै नै बढी छ । तथापि पनि चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्याभन्दा आन्तरिक अर्थात् स्वदेशी पर्यटकको संख्या अत्यधिक रहनुमा चितवन भौगोलिक हिसाबले नेपालको लगभग मध्य भागमा रहनु पनि मुख्य कारण हुन सक्ने देखिन्छ ।

अर्को भनेको विगतका केही वर्षदेखि नेपालीहरू पनि राष्ट्रिय चाडबाड र बिदामा घरमै बसेर फिल्म हेर्ने, नातागोता र आफन्तलाई बोलाएर भोजभतेर गर्ने, जुवातास खेल्ने, जाँडरक्सी खाएर पैसा सक्ने, अन्य फुर्माइस गर्नेभन्दा पनि देश–देशावरको भ्रमणमा निक्लने क्रम बढ्दै गएको छ । राष्ट्रिय चाडबाड तथा बिदाको समयमा देश–देशावरको भ्रमण गर्ने संस्कृतिको विकास युवा पुस्तामा अनिवार्यजस्तै हुँदै गएको देखिन्छ । त्यस्तै गरेर आफ्नो देशको जातीय विविधता, भाषिक विविधता, सांस्कृतिक विविधता, भौगोलिक विविधता, जातजातिपिच्छेको वेशभूषा, संस्कार, संस्कृति, बोलीचाली, परम्परागत कानुन, मूल्यमान्यता, रहनसहन आदि प्रत्यक्ष हेर्ने, देख्ने र अनुभव गर्ने सुनौलो अवसर पनि पाएका छन् ।

जसले गर्दा नेपालको आन्तरिक पयर्टन प्रवद्र्धन गर्नमा ठूलो टेवा पुगेको छ । हुन त नेपालमा आन्तरिक पर्यटक भएर घुम्ने नेपालीहरूले खासगरी नेपालको विभिन्न क्षेत्रमा पदयात्रा गर्न जाने विदेशी पर्यटकहरूले भन्दा धेरै खर्च गर्ने गरेका छन् । नेपाली र विदेशी पर्यटकले नेपालको भ्रमण गर्न जाँदा गर्ने खर्चको फाँटबारी त्यस्तो रहे तापनि केही पर्यटकीय क्षेत्रका स्थानीय होटल, लज, कटेज, होमस्टे, गेस्ट हाउस आदि सञ्चालकले अझसम्म आफ्नो गाउँठाउँ घुम्न आउने नेपाली आन्तरिक पर्यटकलाई पर्यटक नमान्ने मानसिकता हटाइसकेका छैनन् ।

केही दशकअघिसम्म सोलुखुम्बुको लुक्ला, फाक्दिङ, जोरसल्लेभन्दा माथि नेपाली आन्तरिक पर्यटकले मात्रै नभएर केही विदेशी (उदाहरणका लागि इजरायली) पर्यटकले समेत बास पाउन मुस्किल पथ्र्यो ! स्मरणीय छ, त्यो बेला लुक्ला, फाक्दिङ, मोन्जु, जोरसल्लेभन्दा माथिका होटल तथा लज धनीहरू आफ्नो होटल, लज, गेस्ट हाउसमा बास माग्ने पर्यटकलाई पहिले नै उसको राष्ट्रियता सोध्ने गर्थे । यो कुरो कसैले नपत्याउन पनि सक्छ, तर यो पंक्तिका लेखक लामो समयसम्म ट्रेकिङ मजदुरका रूपमा काम गरेको हुनाले प्रत्यक्ष देखेको, भोगेको, अनुभव गरेको घटना हो । हुन पनि हो, हामीमध्ये जोकोही आन्तरिक पर्यटक वा विदेशी पर्यटक भएर घुम्न निक्लँदा फगतमा पैसा खर्च हुने मात्रै नभएर जहाँजहाँ जान्छौं, जुनजुन देशमा जान्छौं, त्यो ठाउँ वा त्यो देशको भ्रमणका क्रममा विभिन्न जातजाति, भाषाभाषी, त्यहाँको भूगोल, कला, संस्कार, संस्कृति, रहनसहन, चाडपर्व, वेशभूषा, चालचलन आदि हेर्न र देख्न पाउँछौं ।

त्यस्तै गरेर आन्तरिक रूपमा आफ्नै देशको विभिन्न क्षेत्रको भ्रमणमा जाँदा पनि जुनजुन क्षेत्रमा हामी जान्छौं, तीती क्षेत्रमा बसोबास गर्ने जातजातिको भाषा, वेशभूषा, कला, संस्कार, संस्कृति, रहनसहन, चाडपर्व आदि हेर्न, देख्न र महसुस गर्न पाउँछौं । जुन कुरो पैसामा जोख्न सकिँदैन । किनभने जुनसुकै जातजातिको किन नहोस्, भाषा, वेषभूषा, कला, संस्कार, संस्कृति, रहनसहन, चाडपर्व आदि भनेको पैसाले किन्ने निश्चित मूल्य तोकिएको वस्तु होइन । यसरी हेर्दा नेपाल पर्यटनका लागि अनेकौं सम्भावना भएका विश्वका केही देशमध्येमा पर्छ; चाहे त्यो भौगोलिक हिसाबले होस्, जातीय विविधताको हिसाबले होस् वा भाषिक विविधताको हिसाबले नै किन नहोस् । चाहे त्यो सांस्कृतिक विविधिताको हिसाबले होस् अथवा जैविक विविधताको हिसाबले नै किन नहोस् ।

विश्वका हरेक देशसँग दाँज्न मिल्ने र सकिने खालका सम्पदा र सम्भावनाहरू नेपालमा छन् । त्यसमा पनि विश्व पर्यटन क्षेत्रमा आएको नयाँ खाले पर्यटन प्रवद्र्धनमा निकुञ्ज भ्रमण गर्ने विधिलाई पनि एक प्रकारको पर्यटन प्रवद्र्धन गर्ने विधि मानिँदै आएको छ । त्यसैले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई नयाँपन दिने हरसम्भव प्रयास हामीले गर्नैपर्ने देखिन्छ, अन्यथा विश्व पर्यटनमा नयाँपनको रसास्वादन गर्ने बानी पर्दै गएका सौखिन पर्यटकले रोजी छानी आफ्नो गन्तव्य फेर्ने देखिन्छ । त्यसैले विश्वका अनेकौं देशहरू पर्यटकलाई नयाँ–नयाँ अफर ल्याएर केही नयाँ र नौलो लाग्ने सेवासुविधा दिने प्रयासमा लागिरहेका छन् ।

अबका दिनमा हामीले निकुञ्ज पर्यटनका साथै सिकार पर्यटन, चराचुरुङ्गी अवलोकन, पर्वतारोहण, बन्जी जम्पिङ, प्याराग्लाइडिङ, जलयात्रा, पदयात्रा, चट्टान आरोहण, माउन्टेन फ्लाइट, माउन्टेन बाइकिङ, हाइकिङ, मेडिटेसन, हेल्थ टुरिजम, साहसिक पर्यटन, जंगल सफारी, क्यानोइङ, हट एयर बालुनिङ, सांस्कतिक पर्यटन, अध्ययन पर्यटन, स्वास्थ्य उपचार पर्यटन, सिटी टुर, योग र योगा, ध्यान, सामाजिक अध्ययन, नेपालमा बसोबास गर्ने विभिन्न जातजातिको धर्म, वेशभूषा, रहनसहन, संस्कार, संस्कृति, भाषा अध्ययन आदिको सम्बन्धमा अध्ययन गर्न आउने पर्यटन, वन्यजन्तु अवलोकन पर्यटन, सफारी पर्यटन आदि÷इत्यादिको डटेर प्रवद्र्धन गर्नेतर्फ लाग्नुपर्ने देखिन्छ ।

नेपालमा हाल सगरमाथा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, शिवपुरी राष्ट्रिय निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज, शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, मकालु वरुण राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज तथा पर्सा राष्ट्रिय निकुञ्ज छन्, साथै निकट भविष्यमा मेरा पिक (स्थानीयवासीको मागचाहिँ महाकुलुङ राष्ट्रिय निकुञ्ज हुनुपर्ने भन्ने छ) राष्ट्रिय निकुञ्ज घोषणा हुनेवाला छ ।