लमजुङमा सात जनामा डेंगु सङ्क्रमण

सफल खबर संवाददाता

विहीबार, ३२ साउन २०८०, १४ : ४७
लमजुङमा सात जनामा डेंगु सङ्क्रमण

लमजुङ। लमजुङमा एक महिनाको अवधिमा सातजनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय लमजुङका अनुसार नयाँ आर्थिक वर्ष सुरु भएसँगै श्रावण महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानमा सातजनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय लमजुङका अनुसार पछिल्लो एक महिनाको अवधिमा राईनास नगरपालिका अन्तर्गत मात्रै चारजनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । सो बाहेक जिल्लामा बेंसीशहर, सुन्दरवजार र मध्यनेपाल नगरपालिका अन्तर्गत एक–एकजनामा डेंगु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख प्रवीण कुमार खनालले बताए ।

कार्यालय प्रमुख खनालका अनुसार सङ्क्रमित मध्ये हाल सवै जना निको भइसकेका छन् । स्वास्थ्यमा समस्या भएर उपचारका निम्ति स्वास्थ्य संस्थामा आएकाहरुमा सङ्क्रमण पुष्टि यकिन भएपनि समुदायमा अझै पनि सङ्क्रमित भएकाहरु हुनसक्ने कार्यालयको अनुमान छ । डेंगु सङ्क्रमण हुँदैमा सवै जना गम्भीर नहुने भएकोले कतिपय घरायसी उपचार गरी स्वास्थ्य संस्थामा नआएको हुन सक्ने कार्यालय प्रमुख खनालको भनाई छ ।

स्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्षमा मात्रै दुई सय ४० जनामा डेंगु सङ्क्रमण भएको थियो । जिल्लाका विभिन्न स्थानिय तहहरुमा विभिन्न समयमा डेंगुको सङ्क्रमण देखिएको हो । गत आर्थिक वर्षमा डेंगु सङ्क्रमणबाट एक जनाएको ज्यान गएको थियो भने अन्य सङ्क्रमित सबै निको भएका थिए ।
लामखुट्टेको टोकाइबाट डेँगु रोगको सङ्क्रमण जोखिम हुने स्वास्थ्यकर्मीको भनाई छ । एडिस एजेप्टाई नामको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा मानिसलाई डेंगु रोग सर्ने र विशेष गरी बर्खाको समय साउनदेखि कात्तिकसम्म डेंगुको उच्च जोखिम हुने चिकित्सकहरुले बताएका छन् ।

नेपालमा सन २००४ मा पहिलो पटक चितवनमा डेंगुको सङ्क्रमण देखिएको थियो । त्यसको ६ वर्षपश्चात् अर्थात् सन २०१० मा सो रोगको महामारी नै फैलिएको थियो । डेंगु रोगको प्रकोप फैलिँदै गएपनि यस रोगको उपचार हालसम्म पत्ता नलागेकोले लक्षणअनुसार डाक्टरहरुले उपचार गर्दै आएका छन् ।
डेंगु रोग लागेमा उच्च ज्वरो आउने, टाउको र आँखाको गेडी दुख्ने, शरीरमा डाबर देखिने, अरूचि बढ्ने, मांसपेशी दुख्ने, पेट गडबडी हुनेजस्ता लक्षण देखिने चिकित्सकहरू बताउँछन् । डेंगु रोगबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नु नै एकमात्र उपाय भएको स्वास्थ्यकर्मीको भनाई छ ।

घरवरपर सफासुग्घर राख्ने, खाडल तथा भाँडामा पानी जम्न नदिने, झुलभित्र सुत्ने, झ्याल ढोकामा जाली लगाउने, शरीर ढाकिने गरी कपडा लगाउनेजस्ता प्राथमिक उपाय अपनाएर डेंगुको सङ्क्रमणबाट बच्न सकिने स्वास्थ्य कार्यालयले जनाएको छ । डेंगु सार्ने लामखुट्टेले प्रायः जमेको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने भएकाले कुनै पनि भाँडामा पानी जम्मा हुन नदिने र सामान्य कुराको होसियारी अपनाउन सकेपनि डेंगु रोगको जोखिमबाट बच्न सकिने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस