कागबेनी बजार बन्यो बगर

सफल खबर संवाददाता

मंगलबार, ३० साउन २०८०, १० : २२
कागबेनी बजार बन्यो बगर

काठमाडौ । आइतबार साँझ मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बासिन्दा सधैँझैँ कोही खाना पकाउन व्यस्त थिए, कोही खान।एक्कासि बजारमा बाढी आयो, बाढी आयो भन्दै हल्ला मच्चियो। एकैछिनमा बजारका सबै जना बजारभन्दा माथि सुरक्षित स्थानमा निस्किए। 

माथिपट्टि निस्किएको केही मिनेटमै कागबेनी बजारमा बाढी पस्यो, बाढीले हर्दाहेर्दै बजारलाई बगरमा परिणत बनायो। स्थानीय आफ्नो भएभरको सम्पत्ति आँखै अगाडि बाढीमा परेको देख्न विवश भए। केहीले लत्ताकपडा, सुन तथा गरगहना निकाल्न भ्याए भने धेरैले सामान्य लत्ताकपडा पनि निकल्न पाएनन्। 

बाढीले घर र सम्पत्ति बगाइदिएपछि कागबेनीका सयौँ नागरिक घरबारविहीन बनेका छन्। कागखोलामा करिब दुई घन्टा आएको बाढीले हेर्दाहेर्दै बजारलाई कालीगण्डकीमा मिसाएको स्थानीय धावा दोर्जे गुरुङले सुनाए। बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका वडा सदस्यसमेत रहेका गुरुङले बाढीमा कुनै पनि मानवीय क्षति नभएको जनाउँदै भौतिक सम्पत्ति ध्वस्त बनेको बताए। यो बाढी अहिलेसम्मकै ठूलो भएको र क्षति पनि धेरै पुर्‍याएको उनले बताए। माथिल्लो क्षेत्रबाट बाढी आएको खबर नभएको भए यहाँका सयौँ मानिस बाढीमा पर्नसक्ने उनले बताए। 

‘दिनभरि काम गरेर साँझ खाना पकाउँदै थियौँ, एक्कासि मुक्तिनाथबाट कागखोलामा बाढी आयो भनेर आफन्तको फोन आयो, पकाउँदै गरेको खाना त्यत्तिकै छाडेर वरपरका छरछिमेकलाई हारगुहार गर्दै बस्तीभन्दा माथि पुग्यौँ, हेर्दाहेर्दै कागखोलामा आएको बाढी कागबेनी बजारमा पस्यो,’ उनले भने, ‘एकै छिनमा सबै घर बगरमा परिणत भए, धन्न ज्यान बाँच्यो, मुक्तिनाथ क्षेत्रबाट धेरैले फोन गरेर बाढी आएको जानकारी गराइदिनुभयो र हामी बाँच्यौँ, नत्र सबै बाढीमा परिने रैछ।’

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजीन नामगेल गुरुङले बाढीपीडितलाई सुरक्षित स्थानमा सारिएको बताए। उनका अनुसार बाढीले २९ घर बगरमा परिणत भएका छन्। तेह्र आंशिक क्षति भएको अध्यक्ष गुरुङको भनाइ छ। आंशिक क्षति भएका घरको पहिलो तलासम्म बाढी पसेको उनले बताए। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहकार्यमा उद्धार जारी राखिएको उनको भनाइ छ। 

सोमबार रातिसम्मको विवरणअनुसार चारपाङ्ग्रे दुईवटा गाडी, मोटरसाइकल ३०, एउटा पक्की मोटरेबल पुल, तीन काठेपुल बाढीले बगाएको उनको भनाइ छ। बाढीले प्रभु बैंकको घर नै बगाएको छ भने जनशान्ति माध्यमिक विद्यालयमा पनि क्षति पुगेको अध्यक्ष गुरुङले जानकारी दिए। धर्मशाला, गुम्बालगायतका संरचना पनि बाढीमा परेको उनी बताउँछन्। उनका अनुसार करिब २०–२५ वटा पशुचौपाया पनि पुरिएको आकलन गरिएको छ। 

प्रतिक्रिया दिनुहोस