त्रिवि र भूगर्भ विभागबीच खानी इन्जिनियरिङ अध्ययनसम्बन्धी सम्झौता

सफल खबर संवाददाता

आइतबार, २८ साउन २०८०, १५ : ३९
त्रिवि र भूगर्भ विभागबीच खानी इन्जिनियरिङ अध्ययनसम्बन्धी सम्झौता

काठमाडौँ । खानी तथा भूगर्भ विभाग लैनचौर र काठमाडौँ विश्वविद्यालयबीच खानी इन्जिनियरिङ (माइनिङ इन्जिनियरिङ) अध्ययन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।काठमाडौँ विश्वविद्यालयमा स्नातक तहमा खानी इन्जिनीयर विषयमा अध्ययनरत विद्यार्थीको क्षमता अभिवृद्धि, खनीज सम्बन्धी तालिम प्रदान गर्नका लागि विभागबाट भइरहेको कार्यमा सहकार्य गर्नेसम्बन्धी आज सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाको उपस्थितिमा विभागको तर्फबाट महानिर्देशक रामप्रसाद घिमिरे र विश्वविद्यालयको तर्फबाट स्कुल अफ इन्जिनियरिङका डिन प्राडा मनिष पोखरेलबीच हस्ताक्षर भएको हो । 

सम्झौतापत्रमा विभागको तर्फबाट विश्वविद्यालयलाई आवश्यक पर्ने जनशक्ति र प्राविधिक सहयोग उपलब्ध गराउने, विभागमा रहेका पूर्वाधारलाई विद्यार्थीले प्रयोग गर्न सक्ने, भविश्यमा खानी तथा भूगर्भसम्बन्धी अध्ययनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहकार्य गर्ने, विद्यार्थीलाई तालिम तथा गोष्ठि उपलब्ध गराउनेलगायत उल्लेख छ ।

कार्यक्रममा खानी तथा भूगर्भ विभागका महानिर्देशक घिमिरेले नेपालमै खानी इन्जिनियरिङको पढाइ हुनुपर्छ भन्ने मान्यता रहेको उल्लेख गर्दै सम्झौतापत्रले नेपालको खानी इन्जिनियरिङको विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । काठमाडौँ विश्वविद्यालय खानी इन्जिनियरिङमा उत्पादित विद्यार्थीलाई सहयोग गर्न विभाग तयार रहेको उनले बताए ।

सरकारले काठमाडौँ विश्वविद्यालयमा खानी इन्जिनियरिङ अध्ययन विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्नेबारे आवश्यक छलफल गरिरहको महानिर्देशक घिमिरेले बताए । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा थापाले विश्वविद्यालयले खानी इन्जिनीयरिङको पढाईमा परिणाम आउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले खानी इन्जिनीयरिङको पढाईलाई अगाडि बढाउन सरकारको साथ र सहयोग पाएको बताए ।

उपकुपति प्राडा थापाले देशको आवश्यकतालाई ख्याल राखेर इन्जिनियरिङ काउन्सिलले स्वीकृति दिएर सराहनीय काम गरेको बताए । कार्यक्रममा काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका डिन प्राडा मनिष पोखरेलले देशको आर्थिक विकासमा खनिज क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । हाल स्नातक तहमा ३० विद्यार्थी खानी इन्जिनियरिङमा अध्ययनरत रहेको विश्वविद्यालयले जनाएको छ ।