बुद्ध र मायादेवीलाई साक्षी राखेर कसम खान्छु भ्रष्टाचार गर्दिन : ल्हारक्याल लामा

सफल खबर संवाददाता

विहीबार, २५ साउन २०८०, २० : २५
बुद्ध र मायादेवीलाई साक्षी राखेर कसम खान्छु भ्रष्टाचार गर्दिन : ल्हारक्याल लामा

लुम्बिनी । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले गौतम बुद्ध र मायादेवीलाई साक्षी राखेर लुम्बिनी जस्तो पवित्र ठाउँको बद्नाम हुन नदिने र भ्रष्टाचार पनि नगर्ने प्रतिबद्धता जनाएका छन् ।

बिहीबार बुद्धजन्मस्थल लुम्बिनीस्थित कोषको प्रधान कार्यालयमा पुगेर उपाध्यक्ष लामाले पदभार ग्रहण गर्दै यस्तो बताएका हुन् । उनले आफूलाई उपाध्यक्ष नियुक्ति पछि खेद्ने काम भएको गुनासो गर्दै उनले आफ्नो क्षमतालाई प्रयोग गरेर लुम्बिनीको विकास गर्ने जनाए ।

‘मेरो जीवन नै बौद्ध धर्म, संस्कृतिको विकासमा सुम्पेको छु,’ उनले भने, ‘अहिलेसम्मको अनुभवलाई लुम्बिनी विकासका लगाउँछु, यो ठाउँलाई स्वदेश, विदेश सबैको साझा बनाउँछु ।’ लुम्बिनी जस्तो पवित्र ठाउँमा बेलाबेला अनियमितता खबरहरु बाहिरिने गरेको जनाउँदै लामाले आफ्नो कार्यकालमा कुनै किसिमका भ्रष्टाचार र अनियमितता हुन नदिने जनाए । ‘बाहिर हल्ला आउँछन् तर यो पवित्र ठाउँमा कुनै किसिमको अनियमितता र भ्रष्टाचार छैन होला, यदि कसैले गरेको छ भने अब रोके हुन्छ,’ उनले भने, ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न, मैले गलत गरेँ भने मेरो छाती समाउने छुट पदाधिकारी, कर्मचारी, स्थानीय सबैलाई छ ।’

सरकारले लामालाई साउन १६ गते कोषको उपाध्यक्ष नियुक्त गरेको थियो । भ्रष्टाचार, दोहोरो नागरिकता, बैंकको लकरमा गोली राखेको लगायतको आरोप लागेका व्यक्तिलाई लुम्बिनी जस्तो शान्ति क्षेत्रको नेतृत्व सुम्पिएको भन्दै चर्को आलोचना भएको थियो । सरकारले नियुक्ति फिर्ता नलिएपछि ढिलो गरी लामाले लुम्बिनी आएर कार्यभार सम्हालेका हुन् । उनले आफू लामो समयदेखि बुद्धमार्गमा हिँड्दै, बुद्धकै सन्देश फैलाउने काम गरेको बताउँदै उपाध्यक्षको भूमिकामा रहँदा लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरसम्म प्रचार गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस