पशुपतिनाथ मन्दिर प्रवेश गराइयो नवनियुक्त भट्ट अडिगालाई

रासस

बुधबार, २४ साउन २०८०, १३ : ३९
पशुपतिनाथ मन्दिर प्रवेश गराइयो नवनियुक्त भट्ट अडिगालाई

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले नवनियुक्त भट्ट वी यस विनय अडिगालाई आज विधिवत् रुपमा पशुपतिनाथको मूलमन्दिरमा प्रवेश गराएको छ । विधिवत् रुपमा पशुपतिनाथ मन्दिर प्रवेश गरेका भट्ट अडिगालाई मूल भट्ट गणेश भट्टले पाशुपत दीक्षा प्रदान गरेका कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले  जानकारी दिए ।

नवनियुक्त भट्टले आर्यघाटअघिको विष्णुपादुकामा बसी प्रायश्चित्त गोदान गरेर पशुपति क्षेत्रका विभिन्न देवीदेवताको विधिअनुसार दर्शन र परिक्रमा गरी मन्दिर प्रवेश गरेका हुन् । नवनियुक्त भट्ट अडिगाले भण्डारेश्वर–ताम्रेश्वर–खञ्जनेश्वर–कृष्णेश्वर–शङ्कराचार्य मठ–झम्केश्वर– पशुपतिस्थित चाँगुनारायण– आगमघर–रुद्रगारेश्वर– वासुकीनाथको मन्दिर हुँदै पशुपति मूलमन्दिरस्थित बूढानीलकण्ठ–आर्यघाट–भद्रेश्वर–चतुःषष्टि लिङ्गबाट मूलभट्ट निवास–कुमारीस्थान–कीर्तिमुख भैरव–उन्मत्तभैरव आदि देवीदेवताको दर्शन एवं पूजा आराधना गर्दै पशुपतिनाथ मूल मन्दिर प्रवेश गरेका हुन् । उनलाई मूलभट्टले पाशुपत दीक्षासहित मन्दिर प्रवेश गराएका थिए ।

नियुक्तिपछि भट्ट अडिगा पाँच दिनसम्म पहिले बम्बै ढुकुटी घर भएको स्थान हाल श्रीकृष्ण मन्दिरसँगै गुप्तवास बसेका थिए । मूलभट्ट संयोजकत्वको विद्वत् परिषद्को सिफारिसमा भट्ट अडिगालाई पशुपति क्षेत्र विकास कोषले अनुमोदन गरेको थियो ।

दक्षिण भारतको त्रिलिङ्गी ब्राह्मण परिवारका अडिगा पशुपतिनाथको दक्षिण मुहारको पुजारीका रुपमा नियुक्त हुनुभएको कोषका प्रवक्ता एवं कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए । यस मुहारका पुजारी रमाकारान्त भट्टले करिब चार महिनाअघि स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका थिए । राजीनामा दिएको चार महिनामा प्रशासनिकलगायत प्रक्रिया पूरा गरी उनलाई दक्षिण मुहारको पुजारीका रुपमा नियुक्त गरिएको हो ।

प्रतिक्रिया दिनुहोस