इतिहास बंग्याएर भ्रम नछर्न ओलीलाई विश्वप्रकाशको चेतावनी

सफल खबर संवाददाता

बुधबार, १७ साउन २०८०, २० : ३०
इतिहास बंग्याएर भ्रम नछर्न ओलीलाई विश्वप्रकाशको चेतावनी

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिपी कोईरालाको राष्ट्रिय मेलमिलापको नितिलाई आत्मसमर्पणवादी भनेपछि नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिवाद गरेका छन ।

बुधवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित तुल्सीलाल अमात्यको २६ औं स्मृति दिवस समारोहलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले बिपीले भारत निर्वासनमा बस्न नसकेपछि नेपाल फर्किएर राजासँग आत्मसमर्पण गरेको टिप्पणी गरेका थिए । राजासँग आत्मसमर्पण गरेको कुरालाई राष्ट्रिय मेलमिलाप नीति भन्ने गरिएको उनको जिकिर थियो ।

नेकपा एमाले अध्यक्ष ओलीले भनेका थिए, ‘गणेशमान जी ५० वर्ष काँग्रसमा रहनु भयो, पहिला पनि काँग्रेस हुनुहुन्न्थ्यो, पछि पनि काँग्रेस छोडेर अलग हुनुभयो । गणेशमान जी सधैँ काँग्रेससँग काँग्रेसको कमजोर आत्मसमर्पणवादी चरित्र र भन्ने एकथोक गर्ने अर्कोथोक । त्यो खालको देखेर उहाँ सधैँ संघर्षरत हुनुहुन्थ्यो । नेपाली काँग्रेसका नेताहरु असाध्यै चतुर हुनुहुन्छ । संघर्ष गर्न, टिक्न नसकिने भयो, भारतमा पनि अडिन गाह्रो भयो, सबैतिर गाह्रो भएपछि अब आत्मसमर्पण गरेर भएपनि नेपाल जानुपर्छ भनेर आउनु भयो । तर त्यसलाई के भन्नुभयो भने उकदिन बिहान सबै राता झण्डा नेपालमा गाडिएका देखिने खतरा छ । त्यसकारण अब म जनताको प्रतिनिधि जनशक्ति, राजा राज्यको शक्ति, दुईवटा मिलेर जानुपर्छ, त्यसकारण राजा र मेरो गर्धन जोडिएको छ । भन्ने व्याख्या गरेर बिपी कोईरालाले राष्ट्रिय मेलमिलाप भनेर आफ्नो र राजाको मेलमिलापलाई राष्ट्रिय मेलमिलाप भन्नुभयो, कसका बिरुद्ध भन्दा वामपन्थी परिवर्तनकारी देशभक्ती शक्तिहरुका बिरुद्ध । उहाँका त्यस बेलाका वक्तव्य हेरे हुन्छ । बोल्न नसक्नु बेग्लै कुरा हो, कसैले बोल्न सक्दैन बेग्लै कुरा तर नीति त्यही हो, वक्तव्यले त्यही कुरा भन्छ ।’

सोही अभिव्यक्तिलाई लिएर महामन्त्री शर्माले आपत्ति जनाए । उनले अध्यक्ष ओलीले बिपी कोईरालाको बारेमा राष्ट्रिय मेलमिलाप नीतिप्रति लक्षित अभिव्यक्ति प्रतिक्रियायोग्य नरहेको बताए। उनले अध्यक्ष ओलीले कुनैपनि सार्वजनिक कार्यक्रममा अरुको बारेमा तिक्तता नपोखी वक्तव्य टुंग्याए नेपाली समाजले अनौठो मान्नुपर्ने स्थिति आइसकेको बताए। महामन्त्री शर्माले अध्यक्ष ओलीका पछिल्ला अभिव्यक्ति सुसंस्कृत हुन नसकेको बताए । बिपी कोईरालाले २०३३ सालमा लिनुभएको राष्ट्रिय मेलमिलापाको नीतिप्रति एमालेको संस्थागत बुझाई यही हो भन्दै प्रश्न गरे । उनले बिपी कोईरालाले बनाएको बाटोमै अहिले नेपालको कम्युनिष्ट आन्दोलन अघि बढीरहेको दाबी गरे । उनले बिपीले नै कोरिरहेको बाटोमा नेपालको कम्युनिष्ट आन्दोलनलाई बहुदलीय जनवादमार्फत रुपान्तरण गर्दै लिएर आउने तर बिपीमाथि नै औंला उठाउने प्रकारको व्यवहार गलत भएको बताए । इतिहासलाई बंग्याउने भन्दा इतिहासप्रति समर्पित हुने शिक्षा पछिल्लो पुस्तालाई दिन जरुरी रहेको बताए । महामन्त्री शर्माले इतिहासलाई गाली गरेर सुन्दर भविष्य बनाउन नसकिने बताए ।

महामन्त्री शर्माले बिपीको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि त्यत्तिकै सान्दर्भिक छ भन्ने विषयमा आफू टेबल टक गर्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस