अपहरण–हत्या, इन्काउन्टर र निरीह पुलिस

पत्रपत्रिकाबाट

शनिबार, २६ साउन २०७५, ०८ : ३०
अपहरण–हत्या, इन्काउन्टर र निरीह पुलिस

काठमाडौं । काँडाघारीका निशान खड्काको अपहरणपछि हत्या भएको विषयमा कुनै सन्देह रहेन, किनकि प्रहरीले उनको शव गाडिएको अवस्थामा फेला पारेको थियो । निशानलाई अपहरण गरी हत्या गर्ने दुई अपहरणकारी पनि ‘प्रहरी इन्काउन्टर’मा मारिएको कुरा सार्वजनिक भएको छ ।
यस साता सिंगो समाजलाई नै स्तब्ध बनाउने सो घटना र त्यससँग जोडिएका अन्य तथ्यहरू बाहिर आएपछि प्रहरीको अपरेसनबारे सकारात्मक/नकारात्मक टीका–टिप्पणी भइरहेका छन् । कसैले बालकका अपहरणकारीलाई इन्काउन्टर गरेर अब उप्रान्त हुने यस्ता जघन्य अपराध न्यूनीकरण गर्न र अपराधीको मनोबल गिराउन सकारात्मक भूमिका खेलेको बताएका छन् भने केही मानव अधिकारवादीले यस घटनालाई अन्यत्र मोड्दै प्रहरीले ‘फेक इन्काउन्टर’ गरी गैरन्यायिक हत्या गरेको र यसबाट कानुनी शासनको धज्जी उडाइएको भन्दै आलोचना गरेका छन् ।

‘फेक इन्काउन्टर’ गरी गैरन्यायिक हत्या भन्दै केही मानव अधिकारवादीले उठाएको तर्कसँग भने नेपाल प्रहरी सन्तुष्ट देखिँदैन। अपहरणकारीले दिनभरको प्रयासपछि पनि आफूले भनेजस्तो नभएपछि एक अबोध बालकलाई निर्मम हत्या गरे। प्रहरीका अनुसार उनीहरू बालकको हत्या गरेर भाग्ने प्रयासमा थिए । प्रहरीले अपरेसन चलाउँदै गएपछि उनीहरू इन्काउन्टरमा मारिए ।

प्रहरीको दाबी र मानव अधिकारवादीको तर्क एकअर्काबीच परस्पर विरोधी छन्। घटनाको वास्तविकता जे भए पनि निशान खड्काप्रति सहानुभूति राख्नेहरू ‘हत्याको बदला हत्या’ अक्षम्य अपराधमा कुनै सहानुभूति हुँदैन भन्ने ठूलो समूह रहेको छ  ।

बालक अपहरणपछि हत्याजस्तो अति संवेदनशील विषयको गहिराइमा गएर अनुसन्धान गर्नुपर्ने र यस्ता किसिमका अपराधको कारण खोज्दै समाजमा मौलाउन थालेको आपराधिक क्रियाकलापका बारेमा सूक्ष्म विश्लेषण गर्नुपर्ने स्थितिमा यतिबेला विषयान्तर गर्दै अपहरणकारीको पक्षमा माहोल सिर्जना गर्ने प्रयास गरिएको छ ।
हुन त व्यक्ति आफैंमा सकारात्मक पक्ष भने होइन, चाहे त्यो अपहरणकारीबाट होस्, चाहे प्रहरी इन्काउन्टरबाटै नै किन नहोस्। तर, कतिपय सन्दर्भमा समाजमा देखापर्ने यस्ता दुष्कर्मलाई निस्तेज पार्न चालिने सुरक्षा कारबाहीमा कानुनका दफा र मानव अधिकारका सन्धीहरूको व्याख्या गर्दा आपराधिक मनोवृत्तिका व्यक्तिको मनोबल बढ्ने खतरा उत्पन्न हुन सक्छ । -अाजकाे नेपाल समाचारपत्र

प्रतिक्रिया दिनुहोस