यस्ता छन् मन्त्रिपरिषद्का तीन निर्णयहरु

सफल खबर संवाददाता

मंगलबार, १६ साउन २०८०, २० : ४४
यस्ता छन् मन्त्रिपरिषद्का तीन निर्णयहरु

काठमाडौं । सरकारले संघीय शिक्षा विधेयक संसद्मा पठाउन स्वीकृति दिएको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले उक्त विधेयक संसद्मा पठाउनका लागि स्वीकृति दिने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले बताईन् ।

‘लामो प्रतिक्षारत संघीय शिक्षा ऐन क्याविनेटको विधेयक समितिबाट क्याविनेटमा आएको थियो । क्याविनेटले संसद्मा पठाउन स्वीकृति दिएको छ,’– मन्त्री शर्माले भनिन् ।

सरकारले विश्व वातावरण सुविधाबाट प्राप्त हुने करिब २० करोड २२ लाख रुपैयाँ अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा उक्त अनुदान स्वीकार गर्ने निर्णय गरिएको हो ।

त्यसैगरी, मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको विज्ञापन (नियमन गर्ने) (पहिलो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय पनि भएको छ ।

साथै, गाई, भैंसीमा देखिएको लम्की स्कीन रोगबाट पीडित किसानलाई राहत र संक्रमित पशुहरुको उपचारका बारेमा पनि छलफल भएको मन्त्री शर्माले बताईन् ।