सुदर्शन थापासँग ‘रावायण’मा सहकार्य गर्दै अनमोल केसी, दोहोरो भूमिकामा देखिने

सफल खबर संवाददाता

आइतबार, १४ साउन २०८०, १३ : १४
सुदर्शन थापासँग ‘रावायण’मा सहकार्य गर्दै अनमोल केसी, दोहोरो भूमिकामा देखिने

काठमाडौं । नायक अनमोल केसी र निर्देशक सुदर्शन थापाले फिल्म ‘रावायण’मा सहकार्य गर्ने भएका छन् । निर्देशक थापाले शुक्रबार चलचित्र विकास बोर्डमा ‘रावायण’ शीर्षकमा टाइटल दर्ता गरेपछि अनमोलले अभिनय गर्ने पक्का भएको हो ।

आगामी भदौदेखि छायांकन सुरु हुन लागेको ‘रावायण’मा उनले दोहोरो भूमिका निर्वाहा चर्चा सुरु भएको छ । एक्सन–लभस्टोरी कथामा बन्न लागेको फिल्ममा अनमोलले पहिलो पटक दोहोरो भूमिकामा काम गर्न लागेका छन् । यो फिल्मको निर्माण सुदर्शन आफैंले गर्दैछन् । जसकोे कथा शिवम् अधिकारीले लेखिरहेका छन् ।

लभस्टोरी फिल्म निर्देशनमा सफल गनिएका सुदर्शनले फिल्म ‘प्रेमगीत’को समयदेखि अनमोलसँग सहकार्यको प्रयासमा थिए । उनीहरुबीच करिब ७ वर्षपछि सहकार्य सम्भव भएको छ ।

हुन त, गतबर्ष नायक अनमोलले पूजा शर्मा फिल्मस्बाट निर्माण हुन लागेको अनटाइटल फिल्म साइन गरेका थिए । पूजाले फिल्मको नाम दर्ता नगरेपनि ‘रावायण’ नाममा फिल्म बनाउने तयारी गरेकी थिइन् । त्यस बेला नै सुदर्शनले अनमोललाई निर्देशन गर्ने पक्का जस्तै थियो । जसमा द्धारिका होटलमा पूजा र अनमोलले फिल्ममा काम गर्ने गरि संझौता पनि गरेका थिए ।

फिल्मको कथा अगाडि बढ्दै जादा फिल्म निर्माण नै अन्यौलमा पर्यो र फिल्म बन्ने वा नबन्ने पक्का थिएन । यो बिचमा नायक अनमोलले फिल्मका लागि संझौता गरेको रकम समेत फिर्ता गरे । योसँगै पूजा र अनमोलबिचको सहकार्य तोडिएको थियो ।

तर, यसपटक फिल्म निर्माणमा सुदर्शन एक्लै अगाडि बढेका छन् । स्रोतका अनुसार, त्यहीबेलाको सम्झौतामा रहेर अनमोलले सुदर्शनसँग ‘रावायण’ गर्न लागेका हुन् । यो बिषयमा सुदर्शनले भने– ‘अनमोलले काम गर्ने पक्का भैसकेको छ । अन्य कलाकारसँग कुराकानी भएको छैन ।’

अनमोलले पनि यसपटक सुदर्शनसँग काम गर्ने बिषयमा फाइनल कुरा भएको बताए । उनले भने– ‘हामीले अहिले कुनै पनि संझौता गरेका होइनौं । यो पहिलेको नै संझौता हो । पहिले पनि हामीले फिल्म नगर्ने भन्ने कुरा थिएन । केही समय पछि गर्ने भन्ने कुरा भएको हो । पहिले पूजा शर्मा फिल्मस्सँग संझौता भएको थियो । अब, सुदर्शन थापा प्रोडक्शनसँगको ब्यानरमा काम गर्ने पक्का भएको हो ।’

उसो त, अनमोल केसीले फिल्म ‘फर्कि फर्कि’ पनि साइन गरेका छन् । अब उनले ‘रावायण’लाई पहिलो प्राथमिकता दिएका छन् । अनमोलले फिल्मको लाइनअप बनाउदै अब रावायण पछि मात्र फर्कि फर्कि गर्ने भएका छन् ।

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘छड्के २’को असफलतापछि करिअर र फिल्म छनोटलाई लिएर गम्भीर देखिएका अनमोललाई अब आउने फिल्म व्यावसायिक रुपमा सफल हुनुपर्ने दबाब छ । यस वर्ष उनका एउटा पनि फिल्म रिलिज हुने छैनन् । ज्योतिषले उनलाई यो वर्ष फिल्म रिलिज नगर्न सुझाव दिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस