पोखराको फोहोर व्यवस्थापनमा स्थानीयको अवरोध

सफल खबर संवाददाता

शनिबार, १३ साउन २०८०, १६ : ४२
पोखराको फोहोर व्यवस्थापनमा स्थानीयको अवरोध

पोखरा । महानगरले सहमतिअनुसार काम नगरेको भन्दै स्थानीयले अवरोध गरेपछि पोखराको फोहोर ४ दिनदेखि बिसर्जन भएको छैन । ६ महिनाका लागि अस्थायी रुपमा फोहोर फाल्ने, फोहोर बिसर्जन गरिसकेपछि माटोले पुर्नेलगायत सहमति भए पनि लागू नभएको भन्दै स्थानीयले फोहोर फाल्न रोक लगाएका हुन् ।

पोखरा महानगरपालिकाले हाल वडा नं. ३२ स्थित लामेआहाललाई अस्थायी ल्यान्डफिल साइटका रुपमा प्रयोग गर्दै आएको छ । महानगरले यसअघि पोखरा–१४, बच्छीबडुवामा फोहोर फाल्दै आएको थियो । महानगर सरसफाइ शाखाका अनुसार हाल पोखरा महानगरबाट दैनिक २०० टन फोहोर व्यवस्थापन गर्नुपर्छ ।

हिजोआज मुख्य चोक तथा सडक किनारमा डंगुर थुप्रिन थालेको छ । शहरमा फोहोरको दुर्गन्ध बढेको छ । पोखरा महानगर– ३२ का बासिन्दा इच्छा गुरुङले महानगरले आफैं पहिले गरेको सहमति पूरा नगरेको आरोप लगाए ।‘पहिले यहाँ फोहोर फाल्न ल्याउँदा पनि स्थानीयसँग कुनै वार्ता गरिएन । २/४ जना आफ्ना मान्छे राखेर सहमति गरेर फोहोर फाल्न ल्याइयो । त्यतिबेला यहाँ ल्याएको फोहोर सेग्रिगेसन (बर्गीकरण) नगर्ने, फोहोर फाल्नेबित्तिकै पुर्ने भन्ने सहमति थियो’, गुरुङले भने, ‘तर, सहमति भएको १ प्रतिशत पनि काम भएन ।’

महानगरले सहमतिअनुसार काम नगर्दा वरिपरि दुर्गन्ध फैलिएर बस्नै नसक्ने स्थिति आएको स्थानीयको भनाइ छ । ‘अहिले फोहोर फालिरहेको ठाउँ पहिरो जाने ठाउँ हो । फोहोर फाल्दै पुर्दै गयो भने पहिरो पनि रोकिन्छ भन्ने हाम्रो विश्वास थियो । तर, कुनै पनि काम भएन,’ गुरुङले भने, ‘बरु यहीं बसेर सेग्रिगेसन गर्दा त्यसको गन्ध आएर बसिनसक्नु हुन्छ ।स्थानीय बासिन्दाले सहमति बमोजिमको ६ महिना पूरा भएको र महानगरपालिकाले सम्झौता अनुसार काम नगरेकाले अब फोहोर फाल्न नदिने अडान राखेका छन् ।

 

ल्याण्डफिल साइट क्षेत्रमा दुर्गन्ध फैलिएपछि केही दिनअघि पनि स्थानीयले फोहोर बोक्ने गाडी अवरोध गरेका थिए । स्थानीयको विरोधपछि महानगरले अहिले भने फोहोर विसर्जनलगत्तै पुर्न सुरु गरेको थियो ।

पोखरा महानगरपालिका–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले बर्खामा ल्यान्डफिल साइटमा भएको हिलोका कारण बस्तीमा पनि असर परेको बताए । ‘ल्यान्डफिल साइटमा जाने गाडीको टायरमा हिलो आउँछ । घाम लागेको बेला त्यही हिलो धुलो हुन्छ’, उनले भने, ‘त्यसको लागि पनि हामीले समाधान खोजिरहेका छौं ।’कार्कीले स्थानीयसँगको सहमतिबमोजिम ल्यान्डफिल साइट नजिकै फोहोर वर्गीकरण गर्न बन्द गरिसकेको जानकारी दिए । उनले ल्यान्डफिल साइटमा बसेर फोहोर वर्गीकरण गर्न सहमति नदिएको र केही व्यापारी आएर आफूखुुसी वर्गीकरण गरेको जानकारी दिए ।

‘पहिले पनि हामीले सेग्रिगेसन नगर्ने नै भनेका थियौं । तर, केही मान्छेहरु आएर आफैं काम गरेका हुन् । महानगरले अनुमति दिएको थिएन । हामीले पटकपटक भन्यौं पनि’, वडाध्यक्ष कार्कीले भने, ‘अस्ति महानगरमै गएर सम्झाएर पठाएपछि अहिले त्यो हटिसकेको छ ।’

 

मेयर धनराज आचार्यले डेंगुको असर बढिरहेका बेला फोहोर उठाउन बन्द गरिँदा आफू दुखी भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘डेंगु बढिरहेको अबस्थामा फोहर उठाउन नपाउदा हामी अत्यन्त दुखी छौं । आशा गरौं छिटोभन्दा छिटो समस्या समाधान हुनेछ । फोहोर उठाउने गाडी नआउँदासम्म प्रतीक्षा गरौं । कृपया सडकमा फोहर नफालौं ।’

स्थायी ल्यान्डफिल साइट कहाँ ?

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने बेलामा बच्छीबडुवाको ल्याण्डफिल साइटमा फोहोर फाल्न नपाएपछि लामेआहालमा ६ महिनाका लागि फोहोर फाल्ने र त्यसपछि नयाँ ठाउँ तोकिने भनी पोखरा महानगरपालिकाले स्थानीयसँग सहमति गरेको थियो । तर, सम्झौता अवधि सकिँदासम्म महानगरले अर्को विकल्प दिन सकेको छैन ।

ल्यान्डफिल साइटमा उड्ने चराचुरुंगीका कारण विमान दुर्घटनाको खतरा हुने भएकाले ल्यान्डफिल साइट स्थानान्तरण गरिएको थियो ।तत्कालीन मेयर मानबहादुर जिसी नेतृत्वको पोखरा महानगरले यसअघि वडा नम्बर १६ र २० को सीमानामा पर्ने पस्मराङमा ल्यान्डफिल साइट सार्ने निर्णय गरेको थियो । पोखरा–१६ का वडाध्यक्ष जीवन आचार्यको संयोकत्वमा गठित समितिले बुझाएको प्रतिवेदनका आधारमा पस्मराङ पोखराको नयाँ ल्यान्डफिल साइट तोकियो ।

पस्मराङमा करिब २५० रोपनी क्षेत्रफललाई ल्यान्डफिल साइटका लागि प्रयोग गर्ने महानगरको निर्णय थियो । तर, पछि स्थानीय बासिन्दाको तीव्र विरोध भएपछि निर्णय कार्यान्वयनमा आउन सकेन ।पस्मराङमा ल्यान्डफिल साइट बन्न नसकेपछि विकल्पमा निवर्तमान मेयर जिसीले आफ्नो कार्यकालको अन्तिममा आएर ल्यान्डफिल साइट पोखरा वडा नम्बर ३३ मा सार्न अध्ययन गर्ने निर्णयसँगै महानगरबाट बिदा भए ।

धनराज आचार्य नेतृत्वको पहिलो कार्यपालिका बैठकले पोखरा ३३, टिमुरपाटामा नयाँ ल्यान्डफिल साइट बनाउने निर्णय गर्‍यो । टिमुरपाटामा ल्यान्डफिल साइट बनाउनका लागि विस्तृत अध्ययन गर्न, जग्गा प्राप्ति प्रक्रिया पूरा गर्न तथा पूर्वाधार निर्माण गर्न महानगरले १० करोड रुपैयाँसमेत विनियोजन गरेको थियो ।

तर, निर्णय भएकै १ वर्षभन्दा बढी बितिसक्दासमेत कार्यान्वयनमा आउन सकेको छैन । केही समयअघि पोखरा– ३३ पुँडीटारमा करिब ९६ रोपनी जग्गामा ल्यान्डफिल साइट बनाउने भन्दै वडाध्यक्ष रामचन्द्र अधिकारीको व्यक्तिगत खातामा ५५ लाख रुपैयाँ पठाइएको थियो ।

व्यक्तिगत खातामा महानगरको रकम गएको खुलेपछि उक्त रकम फिर्ता गरिसकेको वडाध्यक्ष अधिकारीले जानकारी दिए । ‘खास त्यो पैसा जग्गा रोक्का गर्न दिइएको थियो । त्यो पैसा फिर्ता भइसकेको छ’, उनले भने । ल्यान्डफिल साइट बनाउने भनिएको पुँडिटारको जग्गा रोक्का गरिएको भन्ने आफूले सुनेको तर, जानकारी नभएको उनले बताए ।

पुँडीटारमै ल्यान्डफिल साइट बनाउन जग्गा प्राप्तिका लागि मन्त्रिपरिषद्‍बाट ३ महिनाअगाडि नै निर्णय आइसकेको छ । तर, पनि जग्गा प्राप्तिमा जिल्ला प्रशासन कार्यालयबाट निर्णय हुनुपर्नेमा ढिलाइ हुँदा ल्यान्डफिल साइट बनाउन पनि ढिलो भइरहेको महानगरको भनाइ छ ।