आँखामा समस्या गराउने कन्जक्टिभाइटिस भाइरस फैलियो

सफल खबर संवाददाता

शनिबार, १३ साउन २०८०, १३ : ५८
आँखामा समस्या गराउने कन्जक्टिभाइटिस भाइरस फैलियो

धनगढी । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा आँखासम्बन्धी समस्या गराउने कन्जक्टिभाइटिस भाइरसको संक्रमण फैलिएको छ । यो भाइरसको संक्रमण फैलिएपछि दुबै जिल्लामा आँखा अस्पताल तथा उपचार केन्द्रमा बिरामीको संख्या बढेको छ ।

गेटा आँखा अस्पतालका प्रमुख डा. सुरेशराज पन्तले कैलाली र कञ्चनपुरमा पछिल्लो समय देखिएको आँखा पाक्ने समस्या कन्जक्टिभाइटिस भाइरसका कारण भएको बताए। गेटा आँखा अस्पतालसहित कैलालीको धनगढी, टीकापुर, कञ्चनपुरको महेन्द्रनगर, बेलौरी दोधराचाँदनी लगायतका स्थानका आँखा उपचार केन्द्रमा पनि बिरामीको चाप बढेको पन्तले बताए ।

‘अहिले मानिसहरुमा आँखा रातो हुुने, चिलाउने, बिझाउने, परेली सुनिने, आँसु आउने, कसै कसैलाई चिप्रा आउने जस्ता समस्या देखा परेका छन् । यो कन्जक्टिभाइटिस भाइरसका कारणले भएको हो’, पन्तले भने, ‘गेटा आँखा अस्पताल, कैलाली र कञ्चनपुरमा रहेका उपचार केन्द्रहरुमा दैनिक यी समस्या भएका बिरामीहरु आइरहनुभएको छ। ओपीडीमा चेकजाँच गर्ने मध्ये ५० प्रतिशत बिरामी कन्जक्टिभाइटिस भाइरससँग सम्बन्धित समस्या भएका छन् ।’

उनका अनुसार गेटा आँखा अस्पतालमा मात्र दैनिक १०० जना बिरामी कन्जक्टिभाइटिस भाइरसका आइरहेका छन् । यो सामान्य किसिमको भाइरस भएकाले एकदेखि डेढ हप्तासम्म आफैं निको हुने बताउदै डा. पन्तले कुनै व्यक्तिमा समस्याका रुपमा देखिन सक्ने भएकाले सचेत रहन आग्रह गरेका छन् । उनले भाइरसको संक्रमण भएको समयमा ब्याक्टेरियल इन्फेक्सन हुने जोखिम हुने भएकाले आँखा चेकजाँच गराएर एन्टिबायोटिक औषधी खान सुझाव दिएका छन् ।

‘यो दीर्घकालीन असर गर्ने खालको नभएर सामान्य किसिमको भाइरल हो । एकदेखि डेढ हप्तासम्म निको हुन्छ । औषधी जरुरी छैन, तर कहिलेकाहीँ यो सँगै ब्याक्टेरियल इन्फेक्सन हुनसक्छ’, पन्तले भने, ‘त्यो नहोस् भनेर एन्टिबायोटिक औषधीको प्रयोग गर्नुपर्छ ।’यो भाइरस एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने भएकाले सचेत हुन चिकित्कहरुले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस