नेपालमा डेंगु सङ्क्रमित बिरामीको सङ्ख्या तिन हजार नाघ्यो

सफल खबर संवाददाता

आइतबार, ०७ साउन २०८०, १२ : ०५
नेपालमा डेंगु सङ्क्रमित बिरामीको सङ्ख्या तिन हजार नाघ्यो

काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएको छ । देशभर डेंग बिरामीको सङ्ख्या ३ हजार भन्दा बढी रहेको ईपीडीमीयोलीजो तथा रोग नियन्त्रण महाशाखाको आँकडाले देखाएको छ ।महाशाखाले दुई साताअघि पत्रकार सम्मेलनमार्फत ११ सय ९२ जना डेंगुको बिरामी पुष्टि भएको जनाएको थियो ।

तर, गएको दुई साताको अवधिमा डेंगु सङ्क्रमित बिरामीको सङ्ख्या थपिएर ३ हजार नाघेको हो । महाशाखाका अनुसार सबैभन्दा बढी डेंगुका बिरामी सुनसरी जिल्लामा पुष्टि भएको छ । सुनसरीमा १५ सय ७१  जना सङ्क्रमित रहेको महाशाखाको भनाइ छ ।

 यस्तै, धादिङमा २५८,  दार्चुलामा १८८,  कास्कीमा १४९,  सङ्खुवासभामा ५८, काठमाडौँमा ४६, कञ्चनपुरमा ३९  भक्तपुरमा ३५, म्याग्दीमा ३२,  झापामा पनि ३२ जना डेंगुका बिरामी रहेका छन् । नेपालमा अझै सङ्क्रमित बढ्ने विज्ञहरूको भनाइ छ । 

२०७९ सालमा वैशाख महिनादेखि डेंगु रोगका बिरामीहरूको सङ्ख्यामा वृद्धि भई भदौ, असोज र कार्तिक महिनामा देशका ७७ वटै जिल्लाहरू सङ्क्रमण पुष्टि भएको थियो। जसमा काठमाडौँ उपत्यकासहित १० भन्दा बढी जिल्लाहरूमा डेंगु प्रकोपको रूपमा देखा परेको थियो । २०७९ साल पुस मसान्त सम्ममा ५५ हजार भन्दा धेरै मानिस सङ्क्रमित भएका थिए । यस्तै ८ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस