सरकारले नेपाली जनताको आकांक्षालाई सम्बोधन हुनेगरी काम गरिरहेको छ : उपप्रधानमन्त्री खड्का

सफल खबर संवाददाता

शनिबार, ०६ साउन २०८०, १९ : ३५
सरकारले नेपाली जनताको आकांक्षालाई सम्बोधन हुनेगरी काम गरिरहेको छ : उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले लोभ र डरमुक्त भई नेपाली जनताको आकांक्षालाई सम्बोधन हुने गरी सरकारले काम गरिरहेको बताएका छन ।

शनिबार काठमाडौंको सुन्दरीजलस्थित विपी संग्राहलयमा आयोजित ‘विपी कोइराला राष्ट्रिय पुरस्कार २०७९’ समर्पण समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले विपी कोइरालाबाट प्रेरित भएर कुनै पनि खालका लोभ र डरभुक्त भई नेपाली जनताको आकांक्षालाई सम्बोधन गर्ने काममा लागि परेको बताए ।

उपप्रधानमन्त्री खड्काले विपीले २०१५ सालमा जननिर्वाचित पहिलो प्रधानमन्त्रीको रुपमा नेपाली जनताको पक्षमा गर्नुभएको क्रान्तिकारी निर्णयहरुबाट वर्तमान सरकार प्रेरित रहेको समेत बताए ।

नेपाली माटो र भूमिप्रतिको समर्पणको भावनाबाट समर्पित भएर मुलुकको राजनीति डोहोरिनु पर्छ भन्ने विपीले आफ्नो अन्तिम जीवनकालमा दिएर जानु भएको राष्ट्र र जनताप्रतिको समर्पणको नासोलाई आत्मासात गर्दै नेपाली जनताको आकांक्षालाई सम्बोधन गर्न आफूहरु इमान्दारिताका लागि परेको उनले दावी समेत गरे ।

कार्यक्रममा उपप्रधानमन्त्री खड्काले सो संग्राहलय परिसरमा रहेका विपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको शालिकमा माल्यार्पण गर्नुका सार्थ वृक्षारोपण पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस