संघीयतालाई बलियो बनाउन निष्पक्ष सभा सञ्चालन गर्नुपर्छ : गणेशप्रसाद तिमिल्सिना

सफल खबर संवाददाता

शुक्रबार, ०५ साउन २०८०, २० : ४४
संघीयतालाई बलियो बनाउन निष्पक्ष सभा सञ्चालन गर्नुपर्छ : गणेशप्रसाद तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीयतालाई बलियो बनाउनका लागि राष्ट्रिय सभा अध्यक्ष र सभामुखहरुले निष्पक्ष भएर सभा चलाउनुपर्ने बताएका छन।

शुक्रबार संघीय संसद सचिवालयले काठमाडौंमा आयोजना गरेको संघीय संसद र प्रदेश सभाको अनुभव आदान–प्रदान एवं अन्तरक्रिया कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संघीयतालाई जोगाउनका निम्ति सभालाई निष्पक्ष रुपमा चलाउनुपर्ने बताए । उनले आफूहरुको व्यवहारले नै संघीय व्यवस्था बलियो हुने बताए ।

अध्यक्ष तिमिल्सिनाले संघीयता ल्याउनका लागि लडेका दलहरु पनि भाषणको रटानका नलागी व्यवहारबाट पुष्टि गर्न लाग्नुपर्ने बताए । उनले जनताले सुशासन र आर्थिक समृद्धि खोजेको भन्दै दलहरुले जनताको सो आकांक्षालाई पूरा गर्न लाग्नुपर्ने बताए । उनले जनताले महशुस गर्नेगरी आर्थिक विकास, सुशासन दिन सकेमा संघीयताको विरोध गर्नेहरु कम हुने उल्लेख गरे।

अध्यक्ष तिमिल्सिनाले विपक्षीले सधैँ नराम्रो कुरा मात्रै नभन्ने भन्दै सरकारले संसदमा विपक्षीले बोलेका कुराहरुलाई पनि गम्भिरतापूर्वक लिनुपर्ने बताए। उनले विपक्षीका कुरालाई पनि सरकारले आत्मसात गरेर कमी, कमजोरी सुधार्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस