साम्प्रदायिक हिंसाको चपेटामा मणिपुर: महिलामाथि सामूहिक बलात्कार, निर्वस्त्र गाउँ डुलाइयो

सफल खबर संवाददाता

विहीबार, ०४ साउन २०८०, १५ : ५७
साम्प्रदायिक हिंसाको चपेटामा मणिपुर: महिलामाथि सामूहिक बलात्कार, निर्वस्त्र गाउँ डुलाइयो

काठमाडौं।भारतको मणिपुरमा दुई महिलामाथि क्रुर र अमानवीय हिंसा गरिएको छ । उनीहरूलाई निर्वस्त्र पारेर गाउँ डुलाइएको हो भने सामूहिक बलात्कारसमेत गरिएको छ ।पछिल्लो समय मेइती र कुकी समुदायबीच भइरहेको साम्प्रदायिक हिंसाबीच दुई महिलामाथि जघन्य अपराध गरेको भिडियोसमेत सामाजिक सञ्जालमा बाहिरिएको हो । भिडिओमा दुई कुकी महिलामाथि सामूहिक बलात्कार भएको छ । 

युवाहरूको ठूलो भिडले ती महिलालाई निर्वस्त्र बनाएर गाउँ डुलाइरहेको देख्न सकिन्छ। भारतीय प्रहरीले भिडिओको पुष्टि गरेको छ । भारतीय सञ्चार माध्यमका अनुसार घटना ४ मेको हो । मणिपुरको थौबल जिल्लामा ती महिला यौन दुर्व्यवहारको सिकार भएको प्रहरीले बताएको छ। ​मणिपुर प्रहरीले दोषीलाई पक्राउ गर्न सक्दो प्रयास गरिरहेको जनाएको छ । 

भिडिओमा देखिएकी एक महिलाको उमेर करिब २० वर्ष र अर्की महिलाको उमेर ४० वर्ष रहेको समाचारमा उल्लेख छ। भिडिओमा दुईजना महिला मात्रै देखिन्छन् । तर भीडले ५० वर्षीया महिलालाई पनि निर्वस्त्र पारेर दुर्व्यवहार गरेको समाचारमा जनाइएको छ । 

पीडितहरूले प्रहरीमा उजुरीसमेत दिएका छन् । उजुरीमा महिलालाई सामूहिक बलात्कार गरेर हत्या गरेको उल्लेख छ। महिलाका १९ वर्षीय भाइले बचाउन खोज्दा उनको पनि हत्या गरिएको थियो ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मणिपुरको घटना हृदय विदारक रहेको बताएका छन् ।

मोदीले उक्त घटनाले देशको बेइज्जत भइरहेको बताएका हुन् । उनले दोषीलाई कुनै पनि हालतमा नछोड्ने बताएका छन् । ‘मणिपुरमा भएको घटनाले १४० करोड भारतीयलाई लज्जा भएको छ। म सबै देशवासीलाई आश्वस्त पार्न चाहन्छु, यसमा संलग्न कसैले पनि छुट पाउने छैनन्,’ उनले भने।

भारतको सर्वोच्च अदालतले यसबारे राज्य र केन्द्र सरकारसँग जवाफ मागेको छ । भारतका प्रधानन्यायाधीश डीवाई चन्द्रचुडले यस घटनालाई 'संविधानको चरम दुरुपयोग' भनेका छन् । उनले सरकारले कदम नचाले अदालतले चाल्ने पनि बताएका छन् । 

मणिपुरका मुख्यमन्त्री वीरेन सिंहले दोषीलाई फाँसीको सजाय दिलाउन कोसिस गरिने बताएका छन् । उनले घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको बताएका छन् । महिला संगठनले विरोध प्रदर्शनलाई मध्यनजर गर्दै मणिपुरका पाँच जिल्लामा अनिश्चितकालीन कर्फ्यु लगाइएको छ ।

भारतको पूर्वोत्तर राज्य मणिपुर साढे दुई महिनादेखि हिंसाको चपेटामा परेको छ । पूर्वतिर म्यानमारसँग जोडिएको मणिपुरमा गत मेदेखि हिंसाको चक्र लगातार दोहोरिरहेको छ । हिंसामा परेर १५० जनाको ज्यान गइसकेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । हजारौँ आगजनीका घटना भएका छन् ।कयौँ मानिसहरू विस्थापित भएका छन् । मणिपुरमा हिंसाको पछिल्लो श्रृंखलामा जातीय द्वन्द्व जोडिएको छ । मणिपुरमा विगत साढे दुई महिनामा दुई समुदायबीच हिंसात्मक गतिविधि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस