नेपाली सेनाको सङ्ख्या कुनै पनि हालतमा घटाउनु हुन्नः बामदेव गौतम

सफल खबर संवाददाता

विहीबार, ०४ साउन २०८०, १५ : ३२
नेपाली सेनाको सङ्ख्या कुनै पनि हालतमा घटाउनु हुन्नः बामदेव गौतम

काठमाडौँ । राष्ट्रियसभाका सांसद बामदेव गौतमले नेपाली सेनाको सङ्ख्या घटाउने प्रस्तावप्रति आपत्ति जनाएका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले राष्ट्र र जनतालाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार दिलाएको नेपाली सेनाको सङ्ख्यालाई घटाउने कुरा उसको अपमान बाहेक केही हुन नसक्ने तर्क गरे । 

बिहीबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नेपाली सेनाको सङ्ख्या कायम राख्दै औद्योगिक क्षेत्र र कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि २ लाख सेना थप गर्नुपर्ने प्रस्ताव समेत गरे । 

त्यसो गरियो भने नेपाली सेनाले आगामी ५ वर्ष भित्र नेपाललाई आत्मनिर्भर मात्रै बनाउने नभई विदेश निर्यात गर्ने मुलुकको स्तरमा पु¥याउने सांसद गौतमले तर्क गरे । 

उनले गौरवगाथाले भरिएको नेपाली सेनाको सेना घटाएर त्यसको बजेट देशको विकासमा लगाउने कुराको पनि खण्डन गर्दै बरु प्रतिनिधिसभाको सङ्ख्या घटाउन र प्रदेश सभा हटाउँदा उपयुक्त हुने बताए । 

त्यस अवसरमा सांसद गौतमले हालको प्रतिनिधिसभाले राष्ट्रको कार्यकारी चुन्ने प्रणाली रहँदासम्म मुलुकको विकास पनि हुनै सक्ने जिकीर समेत गरे । 

सांसद गौतमले पार्टीको केन्द्रिय कार्य समिति बैठक लाईभ गरेको भन्दै काँग्रेसप्रति आभार व्यक्त गर्दै कम्युनिस्ट पार्टीहरुले पनि त्यसबाट सिकेर अघि बढ्नुपर्ने धारणा राखे ।

गौतमको भनाइ जस्ताको त्यस्तै:

नेपाली सेनालाई यसरी हामीले अपमान गर्न हुँदैन । नेपाली सेना अहिले लगभग ९६ हजारको छ । यो सेनाको इतिहास एक पटक म दोहो¥याउन चाहन्छु । आजको नेपाली सेनाको स्थापना झण्डै २ सय ५५ वर्ष पहिले पृथ्वीनारायण शाहले स्थापना गरेका थिए । त्यो सेनाले नेपाल एकीकरणमा महत्त्वपूर्ण भूमिका खेल्यो ।

 सन् १८१४मा नेपालमाथि अग्रेज साम्राज्यवादको एकैचोटी नौं ठाउँबाट आक्रमण भयो । दुई वर्षसम्म लड्यो नेपाली सेना । नेपाली जनताको साथ लिएर लडेको हो । र, हार्न त प¥यो । तर नेपाल जिउँदो राखेर, केही भूमि छोडेर नेपाली सेनाले नेपाललाई जोगायो । त्यसबेला अंगे्रज साम्राज्यवादसँग कति फौज थियो ? सारा संसारभरि उसको राज्य थियो । उसका उपनिबेषहरु थिए ।

केही समयपछि उसले सिंगो भारतलाई उपनिषद् बनायो उसले । तर नेपाल स्वतन्त्र रह्यो । त्यो स्वतन्त्रताको त्यस बेलाको शासक, प्रशासक जिम्मेवार छन् स्वतन्त्र राख्न निम्ति । तर, मुख्य रुपमा नेपाली सेना हो । त्यो नेपाली सेनाले धेरैधेरै अप्ठयारोमा नेपाल राष्ट्रको रक्षा गरेको छ । नेपाली जनताको रक्षा गरेको छ । र, अन्तिम पटक नेपाली सेनाले राजतन्त्र अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी हुँदाखेरी त्यो संविधानलाई सलाम ठोकेर हामी समर्थन गर्छौं भनेर भन्यो । यो संसारमा राजतन्त्रले, राजाले निर्माण गरेको यत्रो लामो इतिहास भएको फौजले जनताले जे निर्णय गर्छन, त्यो हामी शिरोधार्य गर्छौ भनेर भनेको अर्को इतिहास छैन । नेपाल हो त्यो इतिहास भएको मुलुक । त्यो सेना, गौरवगाथा बोकेको सेना, त्यो इतिहास पढनु पर्छ । दोहो¥याएर पढनुस । म ती साथीहरुलाई अनुरोध गर्छु, जसले सेनाको संख्या घटाउनु पर्छ, त्यसबाट बचेको पैसाले देश विकास गर्नु पर्छ भन्छ । नेपाली सेनालाई एक लाख राखिदिनुस् । अर्को दुई लाख सेना निर्माण गरेर देश निर्माण र औद्योगिक क्षेत्र र कृषि उत्पादनको क्षेत्रमा लगाउनुस् । सेनाले गरेर देखाउँछ । र, उसले ५ वर्ष भित्र नेपाललाई आत्मनिर्भर मात्रै होइन । विदेश पठाउने गरी हामीले हाम्रो देशमा उत्पादन बढाउन सक्छौं । अनेक ठाउँले उसले आफूलाई ऐतिहासिक रुपले श्रेष्ठ साबित गरेको छ । पैसा जोगाउनका लागि त धेरै ठाउँहरु छन् । प्रदेश सभाको के काम छ ? संघीय संरचना भएको हुनाले काम छ । संविधानमा छ । त्यसो भएर मैले अन्यथा भन्दिन । तर काम के छ ? कहानिर गर्छ त्यसले काम ? त्यसभन्दा तल अर्को तह छ । जुन प्रदेश मातहत छैन । केन्द्रको मातहत छैन । जति केन्द्र र प्रदेशलाई अधिकार छ । त्यति उसको पनि स्वायत्त अधिकार छ । २७५ जनाको प्रतिनिधिसभा किन चाहिएको छ ? घटाउनुस् यसलाई । २ सयमा झार्नुस् ।

२ सय ५ जनाको बनाउनुस् । २०३ जनाको बनाउनुस् । अथवा १५०÷१५१ जना बनाउनुस् । यसरी चल्छ । राष्ट्रियसभाको सदस्य हौं । भन्न त मिलेन । तर प्रतिनिधिसभाको भन्दा छुट्टै अधिकार र कर्तव्य के छ ? बेलायतको नक्कल गरेर जसबेला राजको टाउको काटेर विद्रोहीहरुले बेलायतभरी घुमाएका थिए । र, पछि श्रमिकहरुले विद्रोह गर्न सुरु गरेपछि श्रमजीविहरुको विरुद्धमा त्यहाँका जमिनदार र पूँजीपतिहरु मिलेर एउटै छुट्टै हाउस बनाइयो, त्यसलाई हाउस अफ लड भनियो । लड भनेको भगवान मात्रै होइन, त्यसबेलाको जमिन्दार र सामन्तहरु पनि हो । हामीले त्यसैको नक्कल गरेर आज यहाँ छौं । त्यसो भएर नक्कल धेरै क्षेत्रमा भएको छ । त्यसो भएर नक्कल धेरै क्षेत्रमा भएको छ । संसदीय क्षेत्रमा नक्कल भएको छ ।

र, यो संसद् रहँदासम्म नेपाल विकास पनि हुँदैन, अगाडि बढ्न पनि सक्दैन । प्रतिनिधिसभाले कार्यकारी चुन्ने प्रणाली हुँदासम्म अगाडि जान सकिँदैन । र, यस किसिमका, जसले देश जोगायो, जसले आफ्नो रगतले हरेक माटो चाहिँ रातो बनाएको छ । त्यसलाई घटाउनु पर्छ भन्ने ठाउँमा छलफल गर्ने र देश विकास गर्ने सम्बन्धमा कुनै काम नगर्ने त्यस्तो हामीले ग¥यौं भने हामीले श्राप भोग्नेछौं । सतिको श्राप भन्ने छ । त्यो भोग्नेछौं । त्यसो भएर म त्यसलाई खण्डन गर्न चाहन्छु । र, अस्ती नेपाली काँग्रेसले लाइभ गरेर केन्द्रीय कमिटी बैठक सुरु गरेको छ । त्यो सही बाटो हो । कम्युनिष्टहरुले पनि त्यही बाटोबाट हिँड्नु पर्छ भनेर म अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस