काठमाडौं । आर्थिक वर्ष २०७९/०८० मा लुम्बिनी प्रदेश सरकारले ७१.३२ प्रतिशत बजेट कार्यान्वयन गरेको छ । गत आर्थिक वर्षका लागि प्रदेश सरकारले ४२ अर्ब ६३ करोड ५७ लाख बजेट विनियोजन गरेको थियो ।
जसमध्ये ३० अर्ब ४० करोड जति खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय बुटवलले जनाएको छ । कार्यालयले गत असार २४ गते निकालेको तथ्यांकमा ३० अर्ब ५४ करोड खर्च भएको देखिएको थियो । तर पेस्की स्वरुप लगेको बजेट कार्यान्वयन हुन नसकी १७ करोड फिर्ता भएपछि खर्च केही कम देखिएको हो ।
असार मसान्तमा कार्यान्वयन नभएको बजेट फिर्ता हुने सम्भावना अझै रहेकाले बजेट कार्यान्वयन दर केही घट्ने प्रदेश लेखा नियन्त्रक दिपक ज्ञवालीले बताए । प्रदेश सरकारको बजेट कार्यान्वयन गर्ने १४ वटा मन्त्रालय र कार्यालयमध्ये सबैभन्दा बढी खर्च प्रदेश लोक सेवा आयोगको देखिएको छ । उसले १७६.७१ प्रतिशत बजेट कार्यान्वयन गरेको छ । गत वर्ष पाँच करोड विनियोजन भएकोमा लोक सेवाले नौ करोड १८ लाख रुपैयाँ खर्च गरेको छ ।
लोक सेवाको चालुतर्फको खर्च २०८.३५ प्रतिशत छ । पुँजीगत खर्च ९७.२ छ । सुरुमा बजेट कम छुट्याइएको र पछि उपलब्ध गराएका कारण लोक सेवाको खर्च बढी देखिएको प्रदेश लेखा नियन्त्रक ज्ञवालीको भनाइ छ । ‘सुरुमा उहाँहरूलाई बजेट कम छुट्याइएको थियो । पछि परीक्षाहरू सञ्चालन लगायतका काम गरेर विजनेस बढाउनुभयो,’ उनले भने, ‘त्यसका लागि खर्च बढी चाहिने भएको हुनाले खर्च विविध शीर्षकबाट रकमान्तर गरेर सुरुमा विनियोजन भएभन्दा धेरै बजेट थपियो ।
त्यही कारणले गर्दा १७६ प्रतिशत पुगेको हो ।’ प्रदेश लोकसेवा पछि मुख्य न्यायाधिवक्ताको कार्यालयको बजेट कार्यान्वयन धेरै देखिएको छ । सो कार्यालयले विनियोजन भएकोमध्ये ८१.९ प्रतिशत बजेट कार्यान्वयन गरेको छ । मुख्य न्यायाधिवक्ता कार्यालयले चालुतर्फ ७६.५७ प्रतिशतमात्र बजेट कार्यान्वयन गरेको भए पनि पुँजीगततर्फ २१२.३० प्रतिशत खर्च देखिएको छ । पुँजीगततर्फ कार्यालयलाई पाँच लाख रुपैयाँ विनियोजन भएकोमा १० लाख ६१ हजार रुपैयाँ खर्च गरेको देखिएको छ ।
कार्यालयअन्तर्गतका लगभग सबै कार्यक्रम गर्न पाएकाले बजेट कार्यान्वयन बढी भएको मुख्य न्यायाधिवक्ताका कार्यालय प्रमुख हरिहर पौडेलले बताए । मन्त्रालयतर्फ सबैभन्दा बढी खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयको ७७.२७ प्रतिशत बजेट कार्यान्वयन भएको छ । वन तथा वातावरण मन्त्रालयले ७६.१९, भौतिक पूर्वाधार विकास मन्त्रालयको ७६.२ प्रतिशत खर्च देखिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ६९.५८ प्रतिशत बजेट खर्च गरेको छ । यो कार्यालयले पुँजीगततर्फ ११३ प्रतिशत बजेट कार्यान्वयन गरेको छ । त्यसैगरी सामाजिक विकास मन्त्रालयले ६८.३२, आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्रालयले ६५.८२, स्वास्थ्य मन्त्रालयले ६५.४०, उद्योग पर्यटन तथा यातायात मन्त्रालयले ६३.३६, कृषि भूमि व्यवस्था मन्त्रालयले ५९.१८ प्रतिशत बजेट कार्यान्वयन गरको छ ।
सबैभन्दा कम आर्थिक मामिला तथा कानुन मन्त्रालयको ३१.५२ प्रतिशत बजेट मात्र खर्च भएको छ । आर्थिक मामिला मन्त्रालयले आफैं काम नगरी अरुलाई विनियोजन र सहिजीकरण गर्दछ । ‘अरुलाई रकमान्तर गर्नुपर्छ भनेर मन्त्रालयले बढी पैसा राखेको हुन्छ । रकमान्तर गर्दागर्दै पनि बचेको पैसा भएकाले खर्च धेरै नदेखिएको हो,’ प्रदेश लेखा नियन्त्रक ज्ञवालीले भने ।
यस्तै प्रदेश सभाले ६५.१६ प्रतिशत बजेट कार्यान्वयन गर्दा, प्रदेश योजना आयोगले ५३.५३ प्रतिशत बजेट खर्च गर्न सकेको छ । स्थानीय तह निकासाअन्तर्गत ९१.११ प्रतिशत बजेट कार्यान्वयन भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ साउन २०८०, १६ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशत मात्रै विकास बजेट खर्च
लुम्बिनी प्रदेशको बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि
बुद्ध जन्मभूमि लुम्बिनी गौरवको केन्द्र: मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेश सभा छैठाैँ अधिवेशन ३१ गते बस्ने