कर्णालीमा पुल मर्मत : नदी तर्न र पुलमा चढ्न भर्याङ आवश्यक नपर्ने

सफल खबर संवाददाता

मंगलबार, ०२ साउन २०८०, १५ : ४३
कर्णालीमा पुल मर्मत : नदी तर्न र पुलमा चढ्न भर्याङ आवश्यक नपर्ने

वीरेन्द्रनगर । कालिकोट जिल्लाको जिते बजारमा कर्णाली नदी तर्ने भाइरल पुल मर्मत गरिएको छ। गत वर्षको बाढीले पुल बगाएपछि नदी तर्न पुलमा चढ्न भर्‍याङ बनाइएपछि सामाजिक सञ्जालमा भाइरल भयो । 

गत कात्तिक १६ गते अन्नपुर्ण पोस्ट् दैनिकमा कर्णालीमा पुल भत्किन्छन् राजनीतिले देख्दैनन् भन्ने समाचार प्रकाशित भएपछि उक्त पुलका विषयमा छलफल भयो। त्यसपछि कालिकोटका प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाही र प्रदेशसभा 'ख' का सांसद हिक्मत बहादुर बिष्टको पहलमा प्रदेश सरकार मार्फत १९ लाख ७० हजार बजेट विनियोजन गरी मर्मत गरेर पुल नियमित सञ्चालनमा ल्याइएको हो। 

जिते बजारलाई कर्णालीको गेटवेका रूपमा लिइन्छ। सुर्खेतबाट दैलेख हुँदै कर्णाली आउने हरेक मान्छेहरू कालिकोटको जिते बजार भएर नै जुम्ला, मुगु, बाजुरादेखि हुम्लासम्म जाने गर्छन्। कालिकोटबाट बाजुरा हुँदै हुम्लासम्म जाने मुख्य राजमार्ग कर्णाली करिडोर पनि यही बाटो भएर जान्छ। गाडीका लागि खुलालुमा केही समय अगाडि मात्र सञ्चालनमा आएको पक्की पुल छ भने पैदल यात्रीहरूका लागि यो जिते बजारको झुलुङ्गे पुल नदी तर्ने एक मात्र विकल्प हो। 

बाढीले पुल बगाएपछि यहाँ हिँड्ने यात्रुहरूलाई निकै सास्ती भयो। वर्षाको बेला जताततै बाढी पहिरोले कर्णाली करिडोर अवरुद्ध भएको र पैदलयात्रा गरेर आउने यात्रुहरूले खुलालु पुल वा लालिघाटको पुलबाट भीरको बाटो घुमेर यात्रा गर्न त्यति सहज थिएन। 

तर पनि नदीले बगाउन बाँकी रहेको पुलको ३० मिटर भागसम्म सहजै र बाँकी जीर्ण भएको पुलबाटै मानिसहरू यात्रा गर्न थाले। फलामको लठ्ठामा झुण्डिएर कतिले वारपार गरे। सम्भावित अन्य जोखिमबाट मानिसहरूलाई बचाउन प्रहरीले यो पुल जीर्ण अवस्थामा रहेकाले यात्रा नगर्न भने सूचना टाँस्यो। तर पनि मानिसहरूले त्यहाबाट यात्रा गर्न छाडेनन्।

त्यसपछि हुल्म र जितेमा रहेका यातायात समितिका मानिसहरू पुलको निरीक्षणमा गए। पुललाई मर्मत गर्न सकिन्छकी भनेर प्रयास गरे। तर सकेनन्। उनीहरूले यो पुललाई मर्मत गरी मानिसहरूको आवतजावतलाई सहज बनाउन छलफल गरिरहेका बेला हुल्म बजारका नरजंग मल्लले ५० हजारको ठेक्का दिएमा मर्मत गरी सञ्चालनमा ल्याइदिन्छु भनेका थिए। त्यसपछि पुलको मर्मत थालियो। जिते बजारको पुलमा भर्‍याङ जडान गरी सञ्चालनमा ल्याएपछि त्यो पुल सामाजिक सञ्जालमा निकै चर्चाको विषय बन्यो। 

अहिले उक्त पुल मर्मत गरेपछि यात्रुहरूलाई निकै सहज भएको स्थानीय ऐनबहादुर मल्ले बताए।