जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता होः मन्त्री किराती

सफल खबर संवाददाता

विहीबार, २८ असार २०८०, १४ : ०४
जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता होः मन्त्री किराती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको बताएका छन् । बिहीवार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री किरातीले जहाज खरिद गर्नु आफ्नो निजी स्वार्थको विषय नभएको बताए । उनले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको उल्लेख गरे ।

उनले दुर्गम क्षेत्रमा विमानस्थलहरु बनेपनि त्यस क्षेत्रमा उड्ने हवाइजहाजको कमीले नियमित उडान गर्न नसक्दा विमानस्थलको औचित्यमाथि नै प्रश्न उठेको बताए । दुर्गम क्षेत्रमा उडान गर्दा नाफा नहुने भएकोले निजी क्षेत्र त्यसतर्फ उडान सञ्चालन गर्न आकर्षित नदेखिएको किरातीको भनाइ छ ।

उनले नेपाल वायु सेवा निगमले तिनवटा साना जहाज खरिद गर्ने प्रक्रिया अगाडि बढाएको पनि जानकारी दिए । उनले कुन प्रक्रियाबाट खरिद गर्ने भन्नेकुरा निगमकै विज्ञ र पदाधिकारीले निर्धारण गर्ने कुरा भएको उल्लेख गर्दै आफूले नेपालको प्रचलित कानून अनुसार पारदर्शी ढंगले जहाज खरिदको प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताए । उनले भने, ‘दुर्गम क्षेत्रमा संख्यात्मक हिसाबले धेरै विमानस्थलहरु निर्माण भएका छन् ।

तर त्यस क्षेत्रमा उडान, त्यस क्षेत्रमा उड्ने हवाइजहाजको कमीले नियमित उडान गर्न नसक्दा विमानस्थलको औचित्यमाथि प्रश्न उठ्नु स्वभाविक हो । त्यस क्षेत्रमा उडान गर्दा नाफा नहुने भएकोले निजी क्षेत्र त्यसतर्फ उडान सञ्चालन गर्न आकर्षित देखिँदैन । यसै तथ्यलाई मध्यनजर गरी नेपाल वायुसेवा निगमले तीनवटा साना जाहाज खरिद गर्ने प्रक्रिया अगाडी बढाएको छ । जहाज खरिद मेरो निजी स्वार्थको विषय हुँदै होइन ।

राष्ट्रिय आवश्यकता हो । कुन प्रक्रियाबाट खरिद गर्ने त्यो निगमकै विज्ञ र पदाधिकारीले निर्धारण गर्ने कुरा हो । आवश्यक परे सरकारले सहजीकरण मात्र गर्छ र नेपालको प्रचलित कानून अनुसार पारदर्शी ढंगले जहाज खरिदको प्रक्रिया अघि बढाउन मैले निर्देशन गरिसकेको छु ।’उनले देशका विभिन्न स्थानमा विमानस्थल निर्माणको माग भएको उल्लेख गर्दै विमानस्थलको संख्या थप्ने भन्दापनि सेवा र गुणस्तर बढाउनेमा जोड दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस