काठमाडौँ। 'संयुक्त राजनीतिक दलित संघर्ष समिति'ले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आइतबार एक ज्ञापनपत्र बुझाउँदै दलित समुदायमाथि बढ्दै गएको हिंसाविरुद्ध उचित प्रशासनिक पहल लिन माग गरेको छ ।
तातोपानी गाउँपालिका-४, जुम्लामा अन्तरजातीय प्रेम विवाह गरेको आरोपमा दलित समुदायका मुकुन्द नेपालीको घरमा आगजनी हुनु, आरुघाट, गोरखाका सन्तोष नेपालीलाई अन्तरजातीय विवाहकै कारण जबरजस्ति करणी मुद्दामा फसाइनु, भगवापुर, सिरहामा दलितहरू माथि धम्की र कुटपिट जारी रहनु तथा बैतडी, कास्की, रुपन्देही, दाङ लगायतका जिल्लामा श्रीङखलाबद्ध भेदभावका घटना भैरहनुले संविधान र कानुनको उपहास भएको जनाउँदै संघर्ष समितिले उपप्रधानमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएको हो।
'अन्तरजातीय प्रेम र विवाह बढ्दै जाँदा त्यसलाई बालविवाह, अपहरण र जबरजस्त करणी नाममा दलितहरूलाई फसाउने आपराधिक काम हुँदै आएको छ। तसर्थ प्रशासन र न्यायिक क्षेत्रले अन्तरजातीय प्रेम र विवाहलाई जातीय विभेद र उत्पीडनको संवेदनशीलताबाट बुझ्न जरुरी छ,' ज्ञापनपत्रमा भनिएको छ।
गृहमन्त्रीको नेतृत्वमा केन्द्रमा र प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लामा दलित संगठनहरू, पत्रकार महासंघ र मानवअधिकारवादी समेतको प्रतिनिधित्व हुने 'जातीय छुवाछूत र विभेद अनुगमन तथा उन्मुलन समिति' बनाउन समेत संघर्ष समितिले माग गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ असार २०८०, २१ : ०५
लेखकबाट थप