दाङ। दाङको कोइलाबास भन्सार कार्यालयले जेठ मसान्तसम्ममा लक्ष्य भन्दा ४ सय प्रतिशत बढी राजस्व संकलन गरेको छ ।चालु आर्थिक वर्षको ११ महिनामा लक्ष्य भन्दा ४ सय प्रतिशत राजस्व संकलन गर्न सफल भएको भन्सार कार्यालयले जनाएको छ । कार्यालयले चालु आर्थिक वर्षमा २१ लाख ३९ हजार राजस्व उठाउने लक्ष्य लिएको थियो ।
जेठ मसान्तसम्ममा ८३ लाख ४६ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयका भन्सार संकेत निरीक्षक वसन्त रजौरेले जानकारी दिए ।आर्थिक वर्ष सकिन अझै बाँकी रहेकाले थप राजस्व संकलन हुने पनि उनको भनाइ छ । सबैभन्दा बढी पुष र जेठ महिनामा १५ लाख राजस्व संकलन भएको छ । पुष र जेठ महिनामा स्वर्गद्वारी जाने भारतीय पर्यटक बढी आउनुभएकाले राजस्व संकलन पनि बढेको कार्यालयले जनाएको छ । कोइलाबास नाकाबाट विशेषगरी नेपाल आउने यात्रुले प्रयोग गर्ने सवारीसाधनबाट राजस्व उठाउने गरिन्छ ।
दाङको एक मात्र नाका कोइलावास भन्सार कार्यालयमा इन्टरनेटको समस्याका कारण भन्सारको काम लिखित रूपमै हुने गरेको छ ।यस्तै कोइलाबासबाट गढवा–लमहीसम्मको सडकमा घुम्ती भएकाले ठूला गाडी आवागमनमा समस्या हुदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ असार २०८०, १३ : ३७
लेखकबाट थप