बारामा मिटरब्याजीको आरोपमा सर्वसाधारणलाई पक्राउ गरेकाे आरोप

सफल खबर संवाददाता

आइतबार, २४ असार २०८०, १२ : ५८
बारामा मिटरब्याजीको आरोपमा सर्वसाधारणलाई पक्राउ गरेकाे आरोप

बारा । मिटरब्याजीमा संलग्न नै नभएको व्यक्तिलाई बारा प्रहरीले पक्राउ गरेर दुःख दिएको घटना सार्वजनिक भएको छ । बाराकाे महागढीमाई नगरपालिका-१०, गन्जभवानीपुरका एक सर्वसाधारणलाई प्रहरीले पक्राउ गरेपछि सो घटना सार्वजनिक भएको हो । 

पीडितका बुबा मोतीलालप्रसाद गुप्ताले दिएको जानकारीअनुसार छोरी निशाकुमारीसँग महागढीमाई नगरपालिका-१० गन्जभवानीपुर बस्ने रामाधार साह कानुले ६ लाख रुपैयाँको कपाली तमसुक गरेर रकम लिएका थिए । ‘अहिले कानुनले निशालाई मिटरब्याजी भनेर उजुरी दिएका छन्,'  उनले भने, 'तर प्रहरीले संलग्न नै नभएको घटनामा छोरा निरजलाई पक्राउ गरेको छ ।’ 

उजुरीकर्ता कानुनले २०७५ श्रावण ३१ गते कपाली तमसुक गरेर रकम लिएका थिए । तर, कानुनले प्रहरीलाई विभिन्न प्रलोभनमा पारी संलग्न नै नभएको व्यक्तिलाई पक्राउ गरेको गुप्ताले आरोप लगाए । अंशका बुबाले पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालय बाराले गरेको ज्यादतिको बारेमा जानकारी दिएका हुन् ।

 कपाली गरी लिएको रकम पटक पटक ताकेता गरि माग्दा पनि नदिएकोले जिल्ला अदालत बारामा आफूहरुले हालेको मुद्दा आफूहरुले जितेको उनले बताए ।‘तर, सरकारले पछिल्लो समयमा मिटरब्याजीविरुद्ध अध्यादेश ल्याएपछि केही प्रहरीको मिलिमतोमा उल्टै संलग्न नै नभएको व्यक्तिलाई पक्राउ गरिएको छ,’  गुप्ताले सुनाए । 

प्रतिक्रिया दिनुहोस