कोरियन गायिका ली साङ यून मृत फेला

सफल खबर संवाददाता

शनिबार, २३ असार २०८०, १२ : ५७
कोरियन गायिका ली साङ यून मृत फेला

सोल । दक्षिण कोरियाकी सोपरानो गायिका ली साङ यून एक कार्यक्रममा प्रस्तुति दिनअघि मृत फेला परेकी छन् । आफ्नो प्रस्तुति अघि उनी महिला शौचालयमा मृत फेला परेकी हुन् । सञ्चारमाध्यमका अनुसार कार्यक्रमका एक सदस्यले साङको शव फेला परेका थिए । त्यसपछि उनले तत्कालै प्रहरीलाई खबर गरेका थिए । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ ।

साङ गत ६ जुलाईमा एक कार्यक्रममा प्रस्तुति दिन लागेकी थिइन् । त्यसका लागि उनी ब्याक स्टेज थिइन् र बाहिर दर्शक उनको प्रतीक्षामा थिए । तर, प्रस्तुतिको ठिक अघि उनी एकाएक गायब भइन् । लामो समयसम्म पनि उनी स्टेजमा नआएपछि कार्यक्रममा सदस्यहरूले उनको खोजी सुरु गरेका थिए । 

स्थानीय मिडिया न्युज १ सँग कुराकानी गर्दै एक सदस्यले भने, ‘साङ स्टेजमा आउने समय भइसकेको थियो । तर, उनी ब्याक स्टेजमा थिइनन् । जब हामीले उनको खोजी सुरु गर्‍यौँ, बाथरुमको भुइँमा लडेको अवस्थामा फेला पार्‍यौँ ।’

योनहाप न्युजको रिपोर्टमा सुरुवाती जाँचमा साङको शरीरमा हिंसाको कुनै सङ्केत देखिएको छैन । सोपरानो गायकीका लागि चर्चित ४६ वर्षीया साङ दक्षिण कोरियाको सोल नेसनल युनिभर्सिटीबाट स्नातक गरेकी हुन् । उनले अमेरिकाबाट स्नातकोत्तर पूरा गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस