जसपाको विधान प्रमाणीकरण गर्ने तयारी

सफल खबर संवाददाता

शुक्रबार, २२ असार २०८०, १३ : ४२
जसपाको विधान प्रमाणीकरण गर्ने तयारी

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल पार्टीको विधान प्रमाणीकरण गर्ने अन्तिम तयारीमा पुगेको छ । सो पार्टीको असार १० देखि १२ गतेसम्म सम्पन्न विधान अधिवेशनमा विधानको मस्यौदामाथि छलफल भई त्यसलाई प्रमाणीकरण गर्न पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा समिति बनेको थियो । उक्त समितिले विधानमाथि छलफल गरी अन्तिम रूप दिने तयारी गरिरहेको छ ।

समितिका सदस्य एवम् जसपाका नेता दीपेन्द्र झाले अधिवेशनमा विधानको मस्यौदाबारे आएको लिखित र मौखिक सुझावको बारेमा अध्ययन गर्ने काम सकिएको बताए । यही महिनाभित्र विधानलाई पूर्णता दिई प्रमाणीकरण गरेर कार्यान्वयनमा ल्याइने उनले बताए ।

 

‘विधानका मुख्य मुख्य विषयमा आएका सुझावका बारेमा अध्ययन गर्ने काम सकिएको छ, त्यसलाई विधानमा कसरी समावेश गराउन भन्ने विषयमा एक दिन बैठक बसेर टुगों लगाउने तयारी छ’ उनले भने, ‘सम्भवतः साउनदेखि विधानलाई कार्यान्वयनमा ल्याउने गरी काम सम्पन्न हुँदै छ ।’

 

जसपा स्रोतका अनुसार विधान अधिवेशनमा सङ्घीय परिषद्, ७० वर्षको उमेर हद, राष्ट्रिय समिति, केन्द्रीय समिति सदस्यको सङ्ख्या, महिलालाई आरक्षणलगायतका विषयमा नेताहरूले सुझाव दिएका थिए । सोही सुझावका विषयमा अध्ययन भएको र केही दिनमै टुगों लगाउने गरी पार्टीमा छलफल भइरहेको झाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस