अस्ट्रेलियन राजदूत भोल्कद्धारा वनमन्त्री महतोसँग भेटवार्ता

सफल खबर संवाददाता

विहीबार, २१ असार २०८०, १९ : ०५
अस्ट्रेलियन राजदूत भोल्कद्धारा वनमन्त्री महतोसँग भेटवार्ता

काठमाडौं । नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र महतोसँग शिष्टाचार भेटवार्ता गरेकी छिन् । वन मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र अस्ट्रेलियाबीच नेपालको वन क्षेत्रमा भएको काम र सहयोगबारे छलफल भएको छ ।

सो अवसरमा नेपालको खासगरी मध्य पहाडी क्षेत्रमा अस्ट्रेलिया सरकारको सहयोगमा संचालित नेपाल अस्ट्रेलिया सामुदायिक वन विकास कार्यक्रमदेखि हालसम्मको सहयोग र सहकार्यका साथै हाल संचालित वनसम्बन्धी परियोजनाको बारेमा छलफल भएको जनाईएको छ।

मन्त्री महतो र राजदूतबीच नेपालका स्थानीय तहहरुमा जलवायु वित्त परिचालन गर्ने, क्षेत्रीयस्तरमा सञ्चालन हुने जलवायु बित्तमा पहुँचसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम, नेपालमा संचालन भैरहेको इनलिफ्ट कार्यक्रम र अस्ट्रेलियन अवार्ड छात्रवृत्तिलगायतका बिषयमा विचार आदानप्रदान भएको थियो ।

उनीहरुबीच वन विकास तथा व्यवस्थापनमा प्रविधिको प्रयोग, वन डढेलो नियन्त्रण तथा रोकथाम र प्रदुषण नियन्त्रण, जडिबुटी तथा सुगन्धित तेलजन्य वनस्पतिको सम्भावना, मानव वन्यजन्तुबिच द्वन्द व्यवस्थापन र अनुसन्धान र विकास बिषयमा छलफल भएको थियो । साथै, आगामी दिनमा नेपाल र अस्ट्रेलियाको वन क्षेत्रमा सहकार्य जारी रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस