रुसी मिसाइल आक्रमणमा युक्रेनी लेखिकाको मृत्यु

एजेन्सी

मंगलबार, १९ असार २०८०, ०७ : २९
रुसी मिसाइल आक्रमणमा युक्रेनी लेखिकाको मृत्यु

एजेन्सी । गत हप्ता युक्रेनको एउटा रेस्टुरेन्टमा रुसी मिसाइल आक्रमण भएको थियो । 

यस हमलामा घाइते भएकी युक्रेनी लेखिका तथा युद्ध अपराध अनुसन्धानकर्ता भिक्टोरिया अमेलिनाको उपचारको क्रममा मृत्यु भएको छ । अभिव्यक्ति स्वतन्त्रता समूह पेनले उनको मृत्यु भएको पुष्टी गरेको हो । 

पूर्वी सहर क्रामाटोर्स्कमा रहेको रिया पिज्जा रेस्टुरेन्टमा रुसी मिसाइलले पूर्णरुपमा ध्वस्त पार्दा ३७ वर्षीया भिक्टोरिया अमेलिना घाइते भएकी थिइन् भने १२ जनाको मृत्यु भएको थियो । मृत्युमा बालबालिका पनि थिए । सो आक्रामणमा परी धेरै जना घाइते भएका थिए ।

पेन युक्रेनले आफ्नो फेसबुक पेजमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘धेरै दुःखका साथ हामी तपाईंलाई यो जानकारी दिन्छौं कि युक्रेनी लेखिका भिक्टोरिया एमेलिनाको जुलाई १ मा डिनिप्रोको मेक्निकोभ अस्पतालमा निधन भएको छ। एमेलिना कोलम्बियाका पत्रकार र लेखकहरूको प्रतिनिधिमण्डलको हिस्सा थिइन्।’

उनको उपचारमा संलग्न चिकित्सकका अनुसार भिक्टोरिया एमेलिनाको टाउकोमा विभिन्न ठाउँमा भाँचिएको थियो । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

पेनका अनुसार, सन २०१७ मा भिक्टोरिया अमेलिनाको उपन्यास ‘डोम्स ड्रीम किंगडम’  मा प्रकाशित भएको थियो। उनी युनेस्को सिटी अफ लिटरेचर प्राइज र युरोपियन युनियन प्राइज फर लिटरेचरका लागि सर्टलिस्ट भएकी लेखिका हुन । उनका कविता, गद्य र निबन्धहरू अंग्रेजी, जर्मन, पोलिश र अन्य भाषाहरूमा अनुवाद गरिएका छन्। 

सन २०२२ मा युक्रेनमा आक्रमण भएदेखि भिक्टोरिया अमेलिनाले रुसी युद्ध अपराधको अभिलेख राख्ने र जवाफदेहिताको वकालत गर्ने काम गरिरहेकी थिइन ।

प्रतिक्रिया दिनुहोस