बन्दै गरेको पुलमा पानी पसेपछि…

सफल खबर संवाददाता

सोमबार, १८ असार २०८०, ०९ : ५६
बन्दै गरेको पुलमा पानी पसेपछि…

काठमाडौ । सिमकोट- कर्णाली करिडोरअन्तर्गत खार्पुनाथ गाउँपालिकाको खार्पुस्थित दोजाम कर्णाली नदी किनारमा पक्की पुलको ढलान कार्य भइरहेकाे ठाउँमा पानी पसेको छ।

पिलरको ढलान गरिरहेको स्थानमा कर्णाली नदीकाे बहाव बढेपछि पानी पसेकाे हाे। यससँगै निर्माण कार्य रोकिएको छ।

पुल निर्माण कम्पनी स्वच्छन्द माउण्ट मेमाेरी जेभीका स्थानीय प्रतिनिधि विजय लामाले पिलर ढलान गर्ने क्रममा नदीको पानी पसेर काम रोक्नु परेको बताए।

पिलरको तल्लो भागमा ढलान कार्य भइरहेको बेला नदीको पानी पसेको हो। यसअघि सो स्थानमा तातो पानी निस्किएको थियो।

नदीको पानी पिलर ढलानका लागि राखिएका छडसम्म भरिएको छ। पानी पसेपछि अहिले काम ठप्प भएको छ।

हिल्सा सिमकोट सडक आयोजनाका इन्जिनियर निरज राजवंशीले पुलको डी लिफ्ट निर्माणपछि ढलान गर्दा केमिकल मिसाइएको भए पनि पानी पसेका कारण तत्काल काम अगाडि बढाउन नसकिने बताए।

उनका अनुसार यो काम अब बर्खा अगाडि बढाउन सकिने अवस्था छैन।

पुल निर्माणका लागि २०७८ साल असोज १४ गते निर्माण कम्पनीसँग सम्झौता भएकाे थियाे। निर्माण सामग्री जम्मा गर्न ढिलाइ भएकाले पुलको काम अगाडि बढ्न सकेको थिएन।

दुई महिना अगाडि निर्माण सामग्री जम्मा भएपछि पुल निर्माण सुरु भएको हो। पुल निर्माण गर्न भ्याटबाहेक १० करोड ४८ लाख रुपैयाँ लाग्ने गरी आयोजनाले सम्झौता गरेको छ।

प्रतिक्रिया दिनुहोस