एनआरएन बेल्जियमको अध्यक्षमा सापकोटाको उम्मेदवारी

सफल खबर संवाददाता

शनिबार, १६ असार २०८०, १६ : ३७
एनआरएन बेल्जियमको अध्यक्षमा सापकोटाको उम्मेदवारी

काठमाडौं।गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको अध्यक्षमा सीता सापकोटाले उम्मेदवारी घोषणा गरेकी छन् । बेल्जियममा हुने हरेक सामाजिक कार्यक्रममा सधैं अग्र स्थानमा देखिने सापकोटाले एनआरएन बेल्जियमको अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

२० वर्षअघि नेपालको चितवनबाट बेल्जियम पुगेकी सापकोटाले आफ्नो व्यवसायसँगै नेपाली समुदायको सुख-दु:खमा साथ दिँदै आएकी छिन् ।  एनआरएन बेल्जियमको ९औं महाधिवेशन जुलाई १६ तारिखमा हुँदै छ । महाधिवेशनमा दुई हजार ६०० सदस्यहरू सहभागी हुँदै छन् । 

नेपाली समुदायको हकहितमा सधैं अग्रणी भूमिकामा देखिने सापकोटाले उम्मेदवारी घोषणासँगै आफूलाई मतदान गरिदिन एनआरएन बेल्जियमका सदस्यहरूलाई आग्रह गरेकी छन् । उनले आफू विगतदेखि नै सामाजिक सेवामा सक्रिय रहेको स्मरण गर्दै आगामी दिनमा पनि यसैमा सक्रिय रहने बताएकी छन् । 'म विगतदेखि नै समाजका लागि काम गरिरहेकी छु । आगामी दिनमा पनि यसैगरी समाजकै लागि काम गर्नेछु,' बेल्जियममा आयोजित एक कार्यक्रममा उनले भनिन्, 'महिला भएर मात्रै भोट मागिरहेकी छैन । तपाईंहरूकै छोरी चेली पनि हो । संस्थामा रहेर राम्रो काम गरेर देखाउन एकपटक नेतृत्वमा पुर्‍याउने जिम्मा तपाईंहरूको हो।' 

आफू अध्यक्ष भए बेल्जियमा रहेका हरेक नेपाली समुदायको कला संस्कृति र पहिचान अगाडि बढाउन प्रोत्साहन गर्ने उनले बताइन् । 'हाम्रो  एकता नै समाजको एकता हो। फुटेर होइन जुटेर समाज र देशका लागि हामीले केही गर्नु छ, ठूलो सकारात्मक परिवर्तन ल्याउनु छ,' उनले भनिन् । 

 

नेपाली बालबालिकाहरूको लागि नेपाली भाषा कक्षा सञ्चालन गरेर नेपाली कला संस्कृतिसँग जोड्ने उनको इच्छ छ। साथै  युरोपका विभिन्न ठाउँबाट बेल्जियममा आएका नेपालीहरू भाषा र कानूनी अज्ञानताका कारण अप्ठ्यारोमा पर्ने गरेको भन्दै सहयोगीको व्यवस्था गर्ने उनको योजना छ । 

सापकोटा बेल्जियममा मात्रै होइन नेपालमा रहँदा पनि विभिन्न सामाजिक कार्यमै सक्रिय थिइन् । उनी वि. सं २०४९ सालमा आदर्श नारी क्लब चितवनको संस्थापक अध्यक्ष भएकी थिइन् ।  पछि नेविसंघ चितवनको जिल्ला सचिव पनि भइन् । 

युवा अवस्थादेखि नै सामाजिक र राजनीतिक क्रियाकलापमा सक्रिय सापकोटा बेल्जियम आएर चितवन सहायता कोष (क्याट) बेल्जियमको संस्थापक अध्यक्ष भइन् । उनी नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिसमेत भएकी थिइन् । युरोपमा सापकोटालाई एउटा राम्रो वक्ता र कुशल महिला नेतृका रूपमा हेरिन्छ । उनलाई विदेशमा रहेर पनि सधैं देशको चिन्ता गर्ने संघर्षशील महिलाको रूपमा धेरैले चिन्छन् ।

प्रतिक्रिया दिनुहोस