केन्यामा सडक दुर्घटनामा ४८ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १६ असार २०८०, १५ : ११
केन्यामा सडक दुर्घटनामा ४८ जनाको मृत्यु

नैरोबी । पश्चिमी केन्याको व्यस्त सडकमा ट्रकले नियन्त्रण गुमाई अरू सवारीसाधन र पैदलयात्रीलाई ठक्कर दिँदा ४८ जनाको मृत्यु भएको छ । अलजजिराले उल्लेख गरेअनुसार अहिलेसम्म ४८ जनाको मृत्यु भएको र एक वा दुईजना अझै ट्रकमुनि फसेको आशंका गरिएको छ ।

केरिचो र नाकुरु सहरबीचको राजमार्गमा शुक्रबार राति भएको सो दुर्घटनाबारे स्थानीय प्रहरी कमान्डर जेफ्री मायेकले बताएका छन्, “दुर्घटनामा ३० जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई विभिन्न अस्पतालमा लगिएको छ । यद्यपि,  पीडितको संख्या धेरै हुनसक्छ । तर, अहिलेसम्म हामी ३० जनाको बारेमा निश्चित भएका छौँ ।”साथै, क्षेत्रीय प्रहरी कमान्डर टम ओडेराले मृत्यु हुनेको संख्या ४८ पुगेको पुष्टि गरेका छन् ।

“केरिचोतर्फ गुडिरहेको एउटा ट्रकले नियन्त्रण गुमाएको र बस स्टपमा खचाखच भरिएका स्थानीय मिनिबसहरूमा ठोक्किएको र बस स्टपमा उभिरहेका यात्री र पैदलयात्रीलाई घाइते बनाएको हामीले आशंका गरेका छौँ,” मायेकले भने ।

दुर्घटनाका प्रत्यक्षदर्शी रहेका चालक पिटर ओटिएनोले भने, “मैले तीव्र गतिमा आउँदै गरेको ट्रेलर देखेँ, एक्कासि ठोक्किएपछि म भागेँ । मैले आफ्नै आँखाले करिब २० वटा शव देखेँ । गाडीमुनि अन्य शव पनि थिए ।”भारी वर्षाका कारण उद्धारकार्यमा बाधा पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस