संसदीय पत्रकारहरुले विधेयकहरुको बारेमा कलम चलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना

सफल खबर संवाददाता

शनिबार, १६ असार २०८०, १२ : १८
संसदीय पत्रकारहरुले विधेयकहरुको बारेमा कलम चलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय पत्रकारहरुले विधेयकहरुको बारेमा कलम चलाउनुपर्ने बताएका छन् । शनिवार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘विधेयक कहाँ कसरी अड्कियो, त्यसको असर के ? त्यसमा नआउने कसरी संसदीय मामिला हुन्छ ?’ अध्यक्ष तिमिल्सिनाले भने, ‘यस्ता कुरामा हामीले ध्यान दिनुपर्छ । तपाईहरुले यसमा लेख्दा विधेयक छिटो आउँछ । दबाब बढ्छ ।’ 

उनले संसदीय मामिला हेर्ने पत्रकारहरुले एउटै विधेयकहरु संसदबाट बारम्बार फर्किने, समितिमा अल्झिएर बस्ने र वर्षौं वर्षसम्म नआउने लगायतका विषयहरुमा कलम चलाउन नसकेको गुनासो गरे । उनले विधेयकहरु बारम्बार शून्यमा झर्दा आम नागरिकहरुलाई त्यसबाट परेको असरका बारेमा कलम चलाउन आग्रह गरे । ‘एउटा विधेयक तयार पार्दा समय, लगानी, आर्थिक पक्ष त्यो विधेयकले दिने सेवा कति प्रभावित भएको हुन्छ, लिएर आयो ५÷६ वर्षसम्म विधेयक थन्क्याउने, त्यसलाई अघि नबढाउने, एउटा सदनले पास गरेको अर्कोमा लगेर त्यत्तिकै राखेर त्यो शून्यमा जाँदा के हुन्छ ? यस्ता कुरामा औंला ठड्याउनुपर्छ’ उनले भने, ‘कुन समितिमा गएर कति समय लाग्यो, विधेयक रोकेको कति भयो ? किन राख्यो त्यसलाई उजागर गर्नुपर्छ । सभामुख, अध्यक्ष, मन्त्रीहरुले के गरे भन्नेमा खोजी नभएको पनि लेख्ने तर विधेयक ल्याएर कहाँ कति रोकियो, किन रोकियो त्यसको सोधी खोजी नगर्ने गर्नु हुँदैन ।’ 

अध्यक्ष तिमिल्सिनाले पत्रकारहरुले विधेयक ल्याउन भइरहको ढिलासुस्तीमा दबाब दिनसके विधेयकहरु समयमा नै आउने बताए ।

प्रतिक्रिया दिनुहोस