विदेशमा अलपत्र परेका नेपाली कामदारलाई विशेष आश्रय स्थलको व्यवस्था मिलाइएको छः श्रममन्त्री भण्डारी

सफल खबर संवाददाता

सोमबार, ११ असार २०८०, २० : ५१
विदेशमा अलपत्र परेका नेपाली कामदारलाई विशेष आश्रय स्थलको व्यवस्था मिलाइएको छः श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशमा अलपत्र परेका नेपाली कामदारहरुका लागि ओमान, कुवेत, साउदी अरेविया र बहराइनमा विशेष आश्रय स्थलको व्यवस्था गरिएको बताएका छन ।

सोमबार प्रतिनिधिसभा बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा उहाँले सो कुरा बताए । मन्त्री भण्डारीले वैदेशिक रोजगारका लागि सबै प्रकारका श्रम स्विकृति दिने व्यवस्था प्रदेश स्तरमा रहेका श्रम तथा रोजगार कार्यालयहरुबाट मिलाइएको जानकारी समेत दिए।

उनले नेपाली नर्स तथा हेल्थ सेक्टरका अन्यलाई बेलायत पठाउने समझदारी अनुसार त्यसको छनौट प्रक्रियालाई अघि बढाइएको पनि बताए। मन्त्री भण्डारीले भन्नु भयो, ‘विदेशमा अलपत्र परेका नेपाली कामदारलाई उद्धार गरी तत्काल आश्रय प्रदान गर्न ओमान, कुवेत, साउदी अरेविया र बहराईनमा विशेष आश्रय स्थलहरुको व्यवस्था गरिएको छ । प्रदेश स्तरमा रहेका श्रम तथा रोजगार कार्यालयहरुमार्फत् बैदेशिक रोजगारीका लागि सबै प्रकारका श्रम स्विकृति हुने व्यवस्था गरिएको छ । नेपाल सरकार र बेलायत सरकारबीच सम्पन्न श्रम समझदारी अनुसार बेलायतमा नेपाली नर्स तथा हेल्थ सेक्टरका अन्यहरुलाई पठाउने सम्बन्धि छनौट कार्यलाई व्यवस्थित र प्रभावकारी रुपमा अगाडि समझदारको कार्यान्वयन ढाँचा मन्त्रीपरिषदबाट स्विकृत भईसकेको छ ।’

मन्त्री भण्डारीले बैदेशिक रोजगारमा रहेकाहरुलाई त्यहाँस्थित नेपाली नियोगबाट श्रम स्विकृति नविकरण गर्न सक्ने व्यवस्था पनि गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस