मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्ने

सफल खबर संवाददाता

आइतबार, १० असार २०८०, १५ : ००
मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्ने

काठमाडौं । यस पटकको मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्नेतर्फ सचेत हुन राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।

प्रि–मनसुनका समयमा फैलिएको तातो हावाको लहरका कारण मानिसको जनजीवन प्रभावित भएको र खेतीबालीमा नराम्ररी असर परेका अवस्थामा मनसुनका समयमा समेत छोटो समयमा देखिन सक्ने भन्दै त्यसतर्फ प्राधिकरणले ध्यानाकर्षण गराएको छ । यस वर्ष मनसुन प्रक्षेपणमा पानी सरदरभन्दा कम पर्ने तथा न्युनतम तापक्रम औषतभन्दा बढी हुने अनुमान गरिएको छ ।

यसले गर्दा मनसुनको अवधिभित्र पनि छोटो समयमा खडेरी पर्ने तथा तराई, भित्री मधेश, उपत्यका एवं खोचमा तातो हावाको लहरको जोखिम बढ्नसक्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए । यसले गर्दा कृषि बालीको उत्पादन कमी हुने जोखिम देखिएको उनले बताए ।

यस्तै, मनसुनका समया पानीजन्य र जीवाणुबाट सङ्क्रमण हुने रोगका कारण धेरैको ज्यान जाने गरेकाले यो समयमा पनि दोहोरिन सक्नेतर्फ पनि सचेत हुन अनुरोध गरिएको छ । विगतमा झाडापखाला, हैजा, कमलपित्त, श्वासप्रश्वाससम्बन्धी रोग, कालाजार, डेङ्गु, इन्फ्लुएञ्जा, फ्लुलगायतका रोग देखिएका थिए ।

मनसुनका सममया हैजा, कालाजार, झाडापखाला तथा सर्पदंशका कारण बर्सेनि करिब पाँच सयको ज्यान जाने गरेको छ । दूषित पानीको प्रयोगले रोग फैलनसक्ने जनाइएको छ । सय वर्ष पनि विभिन्न पानीजन्य रोग देखिन सक्नेतर्फ ध्यानाकर्षण गराइएको छ ।

बाढी, पहिरो, डुबानजस्ता प्रमुख विपद्का घटनासँगै मनसुनका समयमा फैलनसक्ने डेङ्गु, मलेरिया, कालाजार, झाडापखाला, सर्पदंश जस्ता रोग एवं प्रकोपबाट जोगिन तयारी गर्नुपर्ने प्राधिकरणले जनाएको छ । मनसुनको सुरुआतमै नेपालको पूर्वी क्षेत्रका जिल्लमा विपद्जन्य घटनाले ठूलो जनधनको क्षति गरेको छ ।

प्रतिक्रिया दिनुहोस