दीपकराज गिरी लेख्छन्- नयाँ उदाएका शक्तिहरूबीच को बढी राष्ट्रवादी भन्ने प्रतिस्पर्धा चलेको छ

सफल खबर संवाददाता

शुक्रबार, ०८ असार २०८०, ११ : ४९
दीपकराज गिरी लेख्छन्- नयाँ उदाएका शक्तिहरूबीच को बढी राष्ट्रवादी भन्ने प्रतिस्पर्धा चलेको छ

काठमाडाैं।  अभिनेता एवं निर्माता दीपकराज गिरीले नयाँ उदाएका शक्तिहरूबीच को बढी राष्ट्रवादी भन्ने प्रतिस्पर्धा चलिरहेको टिप्पणी गरेका छन् । शुक्रवार फेसबुकमा लामो स्ट्याटस लेख्दै गिरीले हरेक गरिब र कमजोर मुलुकमा सबैभन्दा चाँडै आफूतिर आकर्षित गर्न सक्ने हतियार भनेकै राष्ट्रियता भएको बताएका छन् ।  जनता पनि जसले ठूलो स्वरमा देशको बारेमा बोल्छ त्यता लाग्नु स्वाभाविक भएको उनको भनाइ छ । 

 

आज म लेख्दैछु….

मलाई लाग्छ हामी गम्भीर मोडमा आइपुगेका छौं ! 

जनताको जुन प्रकारको जनअपेक्षा थियो दलहरूले त्यस्को ठीकविपरीत काम गरेकै हो ! 
देशमा परिवर्तन अनेकौ भए तर ती केबल राजनीतिक परिवर्तन मात्रै थिए !

जनताको अवस्थामा खासै केही परिवर्तन आएन 
धनी हरेक दिन धनी बन्दै गए गरिब झन् झन् गरिब, 
पहुँच हुनेहरूको लागि हरेक सुविधा ढोकामै उपलब्ध हुने,  तर भुइँ मान्छेको लागि सामान्यभन्दा सामान्य कुरा पनि दुर्लभ हुन थाल्यो !

दलहरू र तिनका कार्यकर्ताको तडक भडकशैलीले उनीहरूमा झन् नैराश्यता निम्त्यायो!
पछिल्लो कोभिडको समयपछि स्थिति झनै भयावह हुँदै गयो, सर्वसाधारणहरूले चर्को अभाव र गरिबी झेल्नु पर्यो! फलस्वरूप पासपोर्ट लिनेहरूको लाइन, हरेक सोमबार पशुपतिनाथमा दर्शन गर्नेहरूको लाइनभन्दा लामा हुन थाले ! हाम्रो एअरपोर्ट कुनै ट्रेन स्टेशनजस्तो लाग्न थाल्यो !

सबैतिरको यो बेथिति, बिसंगति र अभावबिरुद्ध आफ्ना आबाजहरू बुलंद गरेर केही नयाँ व्यक्ति र शक्तिहरूको उदय भयो . त्यो  स्वाभाविक पनि थियो ! जसरी जनताका यस्तै अभाव असन्तुष्टिको प्रतिनिधित्व गरेर कुनै समय कंग्रेस एमाले माओवादीहरूले लामो समयसम्म शासन गर्ने मौका पाए!

ठीक त्यसै गरेर अहिलेको अवस्थामा जनताको आशा भरोसा नयाँ अनुहारहरूमा केन्द्रित भएको छ उनीहरूमा जनताको विश्वास र भरोसा बढ्दै गयो ! यी नयाँ व्यक्ति र शक्तिहरूप्रति जनताको मुख्य आकर्षण भनेको नै दलहरू प्रतिको वितृष्णा नै हो !

नयाँ व्यक्ति र दलहरूको नारा सबैभन्दा पहिला राष्ट्रियता रह्यो, त्यो स्वाभाविक पनि हो !

हरेक गरिब र कमजोर मुलुकमा सबैभन्दा चाँडै आफूतिर आकर्षित गर्न सक्ने हतियार भनेकै राष्ट्रियता हो ! अब यसरी उदाएका शक्तिहरूबीच नै को बढी राष्ट्रवादी भन्ने प्रतिस्पर्धा नै चलेको छ ! 

जनता पनि जस्ले ठूलो स्वरमा देशको बारेमा बोल्छ त्यता लाग्नु स्वाभाविक हो ! देश आखिर देश नै हो !

झन् पछिल्लो समय जुन घटना घट्यो ….त्यसले मलाई के लाग्छ भने पहिचानका लागि अब देशमा २ शक्तिहरू मात्रै बाँकी हुनेछन् !

एक राष्ट्रवादीले अर्कोलाई राष्ट्रघाती भन्ने अर्कोले अर्कोलाई तानाशाह भन्ने ! जुन संकेत भिड्न्तको संकेत हो !

संहारको संकेत हो ! अहिलेको भोक र गरिबीलाई एकातिर छाडेर, मुद्दा अन्तै मोडिनेछ!
अब हामी देश विकासको लागि होइन को बढी देशभक्त हो भनेर लड्ने छौ !

अदृश्य शक्तिलाई त जसरी पनि लडाउनु नै छ हामीलाई !
पहिला हाम्रा पूर्खा राष्ट्को लागि विदेशी संग लडे ! 
अब हामी राष्ट्रियताको नाममा आफूआफू लड्ने छौ!  यसबाट जुन पक्षले जिते पनि देशले चाहिँ हार्नेछ!

समय छँदै यो विनासकारी प्रतिस्पर्धाबाट बाहिर आएर एकले अर्कोको विचारको सम्मान गर्दै दलीय र व्यक्तिगत स्वार्थ त्यागेर हातेमालो गरेर अगाडि बढेमा मुलुकमा रहेको विद्यामान समस्याहरूविरूद्ध जीत हासिल गरेर देश अगाडि बढाउन सकिएला नत्र यही शैलीमा अघि बढे…… जय पशुपतिनाथ!! जय नेपाल !!

प्रतिक्रिया दिनुहोस