४० करोड १४ लाख बराबरको खानेपानी वितरण प्रणालीको स्वामित्व हस्तान्तरण

सफल खबर संवाददाता

विहीबार, ०७ असार २०८०, १३ : ३६
४० करोड १४ लाख बराबरको खानेपानी वितरण प्रणालीको स्वामित्व हस्तान्तरण

काठमाडौँ । आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले मेलम्ची खानेपानी उप–आयोजना–२ अन्तर्गतको वितरण सञ्जाल सुधार कार्यका चारवटा प्याकेज अन्तर्गत बिछ्याइएका १ हजार १० कि.मि. पाइपलाइनमध्ये करिब रू. ४० करोड १४ लाख बराबरका ७१.७२ कि.मि. खानेपानी वितरण प्रणालीको स्वामित्व काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई आज हस्तान्तरण गरेको छ ।

 

जसअनुसार, महाङ्काल पानीपोखरीबाट मेलम्चीको खानेपानी वितरणका लागि प्याकेज नं. १ अन्तर्गत गौशाला क्षेत्रमा बिछ्याइएको २१.५७ कि.म. तथा प्याकेज नं. २ अन्तर्गत तिलगङ्गा र सिनामङ्गलमा बिछ्याइएको १७.०४ कि.म. खानेपानी वितरण प्रणाली हस्तान्तरण गरिएको छ । 

 

यसैगरी, खुमलटार पानीपोखरीबाट खानेपानी वितरणका लागि प्याकेज नं. ३ अन्तर्गत नरेफाँट र जडीबुटीमा बिछ्याइएको २२.६६ कि.म. र प्याकेज नं. ४ अन्तर्गत कीर्तिपुर पानीपोखरीबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय लगायतका क्षेत्रमा बिछ्याइएको १०.४५ कि.म. खानेपानी वितरण प्रणालीको स्वामित्व हस्तान्तरण गरिएको छ ।

 

साथै, खानेपानी वितरण प्रणालीको निर्देशिका, नक्सा, जीआईएस नक्सा र परीक्षण प्रमाणपत्रसमेत बोर्डलाई हस्तान्तरण गरिएको छ ।त्यस्तै खानेपानी मन्त्रालयका सचिव राम आधार साहको उपस्थितिमा आयोजना कार्यान्वयन निर्देशनालय काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडबीच प्याकेज नं. १ को डीएमए २.४, प्याकेज नं. २ को डीएमए ३.५, प्याकेज नं. ३ को डीएमए ९.१ र प्याकेज नं. ४ को डीएमए–टीयूको स्वामित्व हस्तान्तरण सम्बन्धी सम्झौता पनि भएको छ ।

आज काठमाडौँमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटा, बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणा र लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन कुमार शाक्यले हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस