बाढीपहिरो प्रभावित क्षेत्रमा प्राथमिकताका आधारमा काम थालिसकिएको छ : उप्रधानमन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

बुधबार, ०६ असार २०८०, २० : १७
बाढीपहिरो प्रभावित क्षेत्रमा प्राथमिकताका आधारमा काम थालिसकिएको छ : उप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । मनसुनजन्य विपद्बाट पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर र सङ्खुवासभालगायत जिल्लामा भएको क्षतिको अवस्था, तत्काल गर्नुपर्ने काम तथा सरकारका प्राथमिकताबारे उप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज सरोकारवालासँग छलफल गरेका छन् ।

उनले खोज तथा उद्धारको निरन्तरता, जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थलमा स्थानान्तरण, घाइतेको उपचार, अभाव भएका स्थानमा खाद्यान्नको ढुवानी, खानेपानी तथा विद्युत् आपूर्ति एवं आवागमन पुनःस्थापनालाई क्रमशः प्राथमिकताका आधारमा काम थालिसकेको जानकारी दिए।

नेपालमा मनसुन भित्रिएको दिन २०८० जेठ ३१ गतेदेखि परेको भारी वर्षाबाट आज अपराह्नसम्म पूर्वी पहाडका तीन जिल्लासहित भोजपुर, तनहुँ, नुवाकोट र गोरखामा गरी १३ जनाको मृत्यु भइसकेको छ भने २६ जना बेपत्ता छन् । आठ जना घाइतेको उपचार भइरहेको छ । कूल ४१ वटा घर पूर्णरूपमा र सात वटा आंशिकरूपमा क्षतिग्रस्त भएका छन् ।

आजको छलफलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बाढी पहिरोबाट सडक र पुलमा मात्रै रु ४० करोडको हाराहारीमा क्षति भएको जानकारी दिनुहुँदै मेची राजमार्ग सञ्चालन गराउन हेवाखोलामा १० दिन जतिमा बेलीब्रिज राख्नसकिने अनुमान गरिएको बताए।

छलफलमा ताप्लेजुङबाट प्रतिनिसभामा प्रतिनिधित्व गर्नुहुने सांसद योगेश भट्टराई, सङ्खुवासभाबाट प्रतिनिसभामा प्रतिनिधित्व गर्ने सांसद दीपक खड्का, पाँचथरबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सांसद वसन्त नेम्वाङ र प्रतिनिधिसभा सदस्य लीला देवी वोखिम (लिम्बू)ले आआफ्ना जिल्लामा तत्काल गर्नुपर्ने कामका बारेमा उल्लेख गरे।

सांसदहरूले घरबास गुमाएकाका लागि पालको व्यवस्था गर्नुपर्ने, कतिपय स्थानमा हेलिकप्टरबाट खाद्यान्न ढुवानी गर्नुपर्ने अवस्था रहेको, तत्कालका लागि उद्धार तथा राहतका लागि जिल्लामा रकम निकासा गर्नुपर्ने, यातायात सञ्चालनमा जोड दिइनुपर्नेलगायतका विषयवस्तु राखेका थिए । छलफलमा तीनवटै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि एवं विपद् सम्बद्ध निकायका अधिकारीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस