पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि पहल गर्नुपर्छः अध्यक्ष तिमिल्सिना

सफल खबर संवाददाता

बुधबार, ०६ असार २०८०, १२ : २२
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि पहल गर्नुपर्छः अध्यक्ष तिमिल्सिना

पोखरा । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सबै सम्बन्धित पक्षहरुले जागरुकता देखाउनुपर्ने बताएका छन ।

बुधवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडान अवतरण गरिसकेपछि आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन  । उनले उडान नियमित रुपमा गर्नसकेमात्रै पर्यटन प्रवर्द्धन हुने बताए । उनले आजको खुशीयालीलाई नियमित रुपमा कायम राख्न पोखरा महानगर, पर्यटन व्यवसायी, केन्द्रिय सरकार, प्रदेश सरकार र मित्र राष्ट्रहरुले साझा प्रयत्न गर्न आवश्यक रहेको उल्लेख गरे ।

उनले पर्यटनसँग सम्बन्धित संस्था र कर्मचारीहरुले कान ढालेर बसेर विमानस्थल सञ्चालन हुन नसक्ने उल्लेख गरे । उनले भारतसँग जमीनको खुला सीमाना भएजस्तै आकाशमा पनि खुला सीमाना बनाउनेतर्फ सोच्नुपर्ने बताए । उनले आकाश खुला भए आवातजावतमा पनि सहज हुने बताए । उनले कुनैपनि देशका हवाई कम्पनीहरु फाइदा बिना उडान नभर्ने भन्दै पर्यटन पूर्वाधार विकास गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘अब धेरै तयारी गरेर यो उडानलाई नियमित गर्नुछ । आज उद्घाटन भएको ६ महिनापछि एउटा अन्तर्राष्ट्रिय उडान आउने चार्टड गरेर अर्को ६ महिनामा अर्को चार्टड उडान आउने भयो भने केही अर्थ हुँदैन । आजको खुशीयाली धेरै टिक्दैन । यो खुशीयालीलाई सधैँ कायम राख्नको लागि सबै पक्षले पोखरा महानगर, पर्यटन व्यवसायी, केन्द्रिय सरकार, प्रदेश सरकार र मित्र राष्ट्रहरुले सबैले पर्यटन क्षेत्रसँग सम्बन्धित अधिकारीहरुले सबैले साझा प्रयत्न गरौं । कान ढालेर बसेर हुँदैन । हामीले चीनबाट, बाहिरबाट विमान ल्याइदिनुस् भनेर मात्रै हुँदैन । पहिलो कुरा जसरी भारतसँग हाम्रो खुला सीमाना छ । खुला सीमानामा आवतजावत गरेका छौं । आकाश पनि त्यत्तिकै खुला र निर्वाध ढंगले आवतजावत भइदियो भने अरु विमानहरु आउने रुटहरु खुला हुन्छ । त्यसतिर हाम्रो ध्यान जानुपर्छ । कुनैपनि देशका कुनैपनि कम्पनीका एयरलाइन्सहरु घाटामा उडिरहँदैनन् । उसलाई नाफा हुनुपर्छ । त्यसका लागि हामीले पर्यटन पूर्वाधार निर्माण गर्नुपर्छ ।’

नेपाल चीन जोड्ने कोरला नाकामा चिनियाँ पक्षले सबै पूर्वाधार निर्माण गरिसकेपनि नेपालले भने अहिलेसम्म कुनै चासो नदेखाएको बताए ।

प्रतिक्रिया दिनुहोस