राष्ट्रियसभा अध्यक्षसहित नेपाली नेता कैलाश मानसरोवर यात्रामा

सफल खबर संवाददाता

मंगलबार, ०५ असार २०८०, १६ : ४६
राष्ट्रियसभा अध्यक्षसहित नेपाली नेता कैलाश मानसरोवर यात्रामा

चीन । चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसको निमन्त्रणामा चीन भ्रमणमा रहेका राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना सहितको नेपाली टोलीले तिब्बतमा रहेको ‘कैलाश मानसरोवर’ यात्रा गरेका छन् । हिन्दुहरूको पवित्र धार्मिक क्षेत्र मानिएको कैलाश मानसरोवर यात्रा गर्ने तिमिल्सिनाको टोलीलाई तिब्बतस्थित पर्यटन विभागबाट त्यस क्षेत्रको बारेमा विस्तृत जानकारी दिइएको छ ।

 

चीनको राजधानी बेइजिङ, औद्योगिक सहर संघाई हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतमा आयोजित दुई दिने ‘संस्कृति तथा पर्यटन एक्पो’का प्रमुख अतिथि रहेका तिमिल्सिना र उनका टोलीलाई  नेपाल फर्कनु अघि सोमबार कैलाश यात्रा गराइएको हो ।  तिब्बतमा रहेको कैलाश मानसरोवरको यात्रा पछि अध्यक्ष तिमिल्सिनाले भने, ‘ कैलाश पर्वतको दृश्यावलोकन, त्यस क्षेत्रको प्राकृतिक दृश्य देख्दा यस पटकको चीन यात्रा बयान गर्न नसकिने भयो ।’ 

 

त्यस क्षेत्रको भ्रमण गरेपछि भिडियो सन्देशमा भनेका छन्, ‘यो क्षेत्र धार्मिक पर्यटनको नमुना क्षेत्र रहेछ ।’ अध्यक्ष तिमिल्सिनाले भनेका छन् ‘यो क्षेत्रमा जीवनमा एकपटक पुग्नै पर्ने रहेछ ।’ कोभिड महामारीपछि बन्द गरेको कैलाश मानसरोवर यात्रा गत केही महिना अघि मात्र खुलाएको हो । तिब्बतले कैलाश यात्रा खुल्ला भएको सन्देश दिनका लागि पनि अध्यक्ष तिमिल्सिनाको टोलीलाई कैलाश क्षेत्रको भ्रमण गराएको हो । 

यसअघि, अप्रिल महिनाको अन्तिम साता चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा आएका पूर्वसभामुख अग्नि सापकोटाको नेतृत्वको  २० सदस्सीय टोलीलाई चीन यात्रामा पहिलो गन्तव्य नै कैलाश मानसरोवर यात्रा गराएका थिए । सापकोटा टोलीलाई तिब्बत दुई वटा गाउँ क्षेत्रमा चीन सरकारले गरेको रोजगारी मूलक गरिबी निवारणको विकास नमुना देखाउँदै कैलाश यात्रा गराएको थियो । सापकोटा टोली कैलाश यात्रापछि मात्र राजधानी बेइजिङ, उहान, सान्सी र क्वान्चौंको भ्रमण गरी नेपाल फर्किएका थिए ।  

 

महामारी पछि खुल्ला भएपछि चीनले नेपाली तीर्थयात्रीलाई तिब्बत यात्राको अनुमति दिएको छ । केही समय अघिदेखि नेपाली तीर्थयात्रीहरूको समूह कैलाश यात्रामा आउन सुरु गरेका छन् । तर, हिन्दुहरूको बाहुल्य भएको भारतीय नागरिकहरूलाई कैलाश यात्राको अनुमति हालसम्म खुल्ला गरेको छैन । चिनियाँ नागरिकलाई भारतले यात्रा अनुमति नदिएपछि चीनले पनि भारतीय नागरिकलाई कैलाश यात्राको अनुमति नदिएको हो । यस बारे दुई देशबीच कूटनीतिक वार्ता भए पनि हालसम्म खुल्ला भएको छैन । 

भारत बाहेक अन्य देशमा बस्ने हिन्दु भारतीय (एनआरएन) नागरिकहरूले भने यात्रा गर्न सक्दछन् । नेपालबाट कैलाश यात्रा सञ्चालन गर्दै आएका नेपाली पर्यटन व्यवसायीहरूले नेपालस्थित चिनियाँ राजदूतलाई भारतीय हिन्दुहरूलाई पनि कैलाश यात्राको अनुमतिको लागि पहल गरिदिन अनुरोध गरेका थिए । तर, हालसम्म चीन सरकारले भारतीय नागरिकलाई कैलाश यात्राको अनुमति दिने निर्णय गरेको छैन । 

भाग्यमानी कम्युनिस्ट नेता  

नेपालबाट कैलाश यात्राका लागि नेपालमा रहेका पर्यटन व्यवसायीहरूले यात्रा प्रबन्धको लागि ८ देखि १४ दिनको समय तोकेर यात्रा गराउने गरेका छन् । त्यसको लागि उनीहरूको स्वास्थ्य परीक्षण, यात्राको लागि आवश्यक स्वास्थ्य सामग्री, कपडा, झोला (बन्दोबस्ती) सबै व्यवस्था गरी नेपालको केरुङ नाका हुँदै मानसरोवरको क्षेत्र प्रवेश अनुमति दिने गरेका छन् । त्यसका लागि यात्रा अनुमति, खाना बसोबास आदि सबै व्यवस्थाका लागि जनही एक लाख ३५ हजारदेखि एक लाख ६० हजार रुपैयाँ लिने गरेका छन् । 

चीन भ्रमणमा आएका गणेश तिमिल्सिनाको नौ सदस्सीय टोली र पूर्व सभामुख अग्नि सापकोटाको २० सदस्य सबै टोलीलाई तिब्बत सरकारको तर्फबाट निःशुल्क यात्राको प्रबन्ध गरेको हो । यात्रामा चिनियाँ पथप्रदर्शक(गाइड) र तिब्बतस्थित पर्यटन विभागका कर्मचारीहरू पनि सहभागी भएका थिए । मानसरोवर यात्रा पछि तिब्बत फर्केका अध्यक्ष तिमिल्सिनाले चिनियाँहरूले भ्रमणमा गरेका व्यवस्थालाई धन्यवाद दिँदै भने, ‘हाम्रो चीन भ्रमणको अन्तिम यात्रा(कैलाश मानसरोवर) अद्भुत भयो ।’ 

 

नेपालबाट अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा आएको टोलीमा प्रतिनिधिसभाका सदस्यहरू जीवन परियार, धवल शमशेर जंगबहादुर राणा, प्रदीप यादव, तथा राष्ट्रियसभा सदस्यहरू उदयबहादुर बोहरा, दीपा गुरुङ र हरिराम चौधरी छन् । अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र संघीय संसद् सचिवालयका उपसचिव रामहरि थापा पनि सहभागी छन् । 

प्रतिक्रिया दिनुहोस