चितवन । चितवनको रामनगरमा झण्डै ४ महिना श्रमदान गरेर खानेपानी ल्याइएको छ ।
भरतपुर महानगरपालिका– २९ स्थित खहरेखोलाको पानी ल्याउन भरतपुर महानगरपालिका–१ का स्थानीयले श्रमदान गरेका हुन् । उनीहरूलाई चितवनका विभिन्न क्षेत्रका नागरिकले पनि श्रमदानमा साथ दिएका थिए ।
भरतपुरको रामनगर, ठिमुरा र देवघाट क्षेत्रका वासिन्दालाई पानी खुवाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले श्रमदानको शुरूआत गरेका थिए । उनले स्थानीयलाई गरेको वाचाअनुसार नै निर्धारित समयमा खानेपानी ल्याइएको छ ।
८ किलोमिटर लामो दूरीमा नयाँ पाइप बिछ्याएर रामनगरस्थित ट्यांकीमा पानी झारिएका थिए । स्थानीय सीता भट्ट रामनगरवासीको मुख्य समस्या पानी रहेको भन्दै खहरेखोलाको पानी आएपछि निकै खुशी भएको बताए । उनले नियमितरूपमा श्रमदानमा खटिएको समेत बताए । स्थानीय राधा कुँवर घरको काम छाडेर जनश्रममा जुटेको भन्दै पानी आएपछि उत्साहित भएको बताए । उनले अब पानीको लागि झेल्दै आएको समस्या समाधान भएको बताए ।
विक्रम संवत् २०४९ चैतमा नेपाल र जापान सरकारको सहकार्यमा भरतपुर खानेपानी विस्तार आयोजनाको शुरूआत भएको थियो । त्यसबेला रामनगरमा ४ वटा पानी ट्यांकी निर्माण गरिएका थिए । जुगेडीबाट पानी उक्त क्षेत्रमा ल्याएर भरतपुरका विभिन्न स्थानसम्म वितरण हुने गर्दथ्यो । द्वन्द्वकालपछि धेरै संरचना नष्ट भएपछि खानेपानी ट्यांकी क्षेत्र झाडीमा परिणत भएको थियो । अहिले सोही ठाउँमा सरसफाइ गर्दै खानेपानीका ल्याइएको हो ।
रामनगर क्षेत्रमा हरेकको घरमा इनार भए पनि जनघनत्व बढ्दै जाँदा खानेपानीको अभाव पनि बढ्दै गएकाले खहरेखोलाको पानी ल्याउनुपरेको स्थानीय तुलसीराम श्रेष्ठले बताए । खहरेखोलाबाट खानेपानी आएपछि दीर्घकालीन समस्या समाधान भएको उनको भनाइ छ । त्यतिखेर जाइकाले निर्माण गरेकै ट्यांकीलाई प्रयोग गरेर खानेपानी विस्तार गरिएको सभापति लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए ।
‘भूइँमा बिछ्याएको पाइप सबै चोरिएको थियो । त्यसैले मुहानबाट रामनगरसम्म पूरै पाइप बिछ्याइएको हो,’ उनले भने, ‘मुहान र बीचको ट्यांकी प्राविधिकहरूको सल्लाहअनुसार प्रयोग गरिएको छ ।’
रामनगर, ठिमुरा र देवघाट क्षेत्रमा करीब ४ हजार घरधुरी रहेकामा तत्कालका लागि रामनगर र ठिमुरा क्षेत्रका करीब २ हजार ५०० घरधुरीलाई खानेपानीको व्यवस्थापन गर्ने तयारी भइरहेको उनले बताए । ‘त्यसपछि पानीको स्रोतले पुगेसम्म वितरण गर्ने योजना छ,’ उनले भने, ‘वडा नम्बर १ को माथिल्लो क्षेत्रमा पुगेर बढी भएमा आँपटारीभन्दा तलसम्म पनि पुर्याउन सकिन्छ ।’ यसले भरतपुर महानगरपालिका भित्रको खानेपानी व्यवस्थापनलाई ठूलो मद्दत पुग्ने उनले बताए ।
श्रमदानबाट खानेपानी ल्याउन करीब १ करोड खर्च भएको जनाइएको छ । ८ किलोमिटरको दूरीमा नयाँ पाइप खरिद र बिछ्याउने तथा ट्यांकी मर्मत र सरसफाइ तथा प्राविधिक खर्च गरी करीब १ करोड रुपैयाँ खर्च भएको उनले बताए । ‘यी सबै खर्च जनस्तरबाटै संकलन गर्ने र सरकारी बजेट कहीँबाट पनि नलिइकनै काम गरेका छौं,’ उनले भने, ‘यहाँका जनताले आफैं खुशी भएर सहयोग गरेका छन् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ असार २०८०, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३९ लाख खर्चेर लुक्सीपारमा खानेपानी आयोजना निर्माण
लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा
सिमकोटमा खानेपानीको समस्या
उपत्यकामा खानेपानी वितरण गर्न बिछ्याइएका नयाँ पाइपलाइनको परीक्षण सम्पन्न
कलुवापुरमा खानेपानी समस्या हट्यो
कोरलामा खानेपानी र शौचालयको अभाव