‘ब्राइडल मेकअप कम्पिटिसन–२०१८’ को उपाधि सौन्दर्य जेन्ट्स एन्ड लेडिज शैलुनलाई

सफल खबर संवाददाता

बुधबार, १६ साउन २०७५, १९ : ३१
‘ब्राइडल मेकअप कम्पिटिसन–२०१८’ को उपाधि सौन्दर्य जेन्ट्स एन्ड लेडिज शैलुनलाई

काठमाडौं । बेहुली शृंगार प्रतियोगिता ‘ब्राइडल मेकअप कम्पिटिसन–२०१८’ को उपाधि चितवन घर भई काठमाडौं शंखमूलमा सौन्दर्य जेन्ट्स एन्ड लेडिज शैलुन सञ्चालन गर्दै आइरहेकी मेकअप आर्टिस्ट लक्ष्मी पोखरेलले जितेकी छन् ।
मंगलबार राजधानीमा सम्पन्न सो प्रतियोगितामा आफ्ना २३ प्रतियोगीलाई पछि पार्दै ११ हजार १११ रुपैयाँसहित बेहुली शृंगारमा लक्ष्मी प्रथम भएकी हुन् । उनले नगद, क्राउनसँगै विभिन्न उपहार प्राप्त गरेकी छन् ।
सो प्रतियोगितामा महाराजगञ्ज काठमाडौंकी शोभा श्रेष्ठ फस्ट रनरअप हुँदै उनले ६ हजार ६६६ रुपैयाँसहित विभिन्न उपहार प्राप्त गरिन् । बेहुली शृंगारमा कालिमाटी काठमाडौंकी शोभा बस्नेत सेकेन्ड रनरअप भइन् । उनले ४ हजार ४४४ रुपैयाँसहित विभिन्न उपहार प्राप्त गरिन् ।
प्रतियोगिताको निर्णायकमा अग्रज ब्युटिसियनद्वय डा. राजश्री श्रेष्ठ, रश्मिला श्रेष्ठ, नेपाल कस्मेटिक व्यवसायी संघका अध्यक्ष रञ्जित पौडेल, नेचर इसेन्स÷करल इसेन्सका कन्ट्री निर्देशक रमेश उप्रेती र अग्रज मेकअप आर्टिस्ट श्याम बराल थिए ।


मेकअप आर्टिस्ट तथा ब्युटिसियनहरुको बेहुली शृंगार कलालाई बाहिर ल्याउन यो एकदिवसीय प्रतियोगिता गरिएको हो । प्रतियोगितामा विभिन्न जिल्लाका २४ प्रतियोगी सहभागी थिए । यो प्रतियोगिता ब्युटी सेक्रेट ब्युटी सलुन खिचापोखरी, रोज सिप विकास तामिल केन्द्र रवि भवन, रविना ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर पेप्सीकोला, कलंकी ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कलंकी, ओम शान्ति ब्युटी सलुन सल्लाघारी र विक्षण क्रिएसनले यो प्रतियोगिताको आयोजना गरेको हो ।
अग्रज ब्युटिसियन डा. राजश्री श्रेष्ठले पहिला आफ्नो पालामा बेहुली शृंगारका लागि त्यति धेरै प्रविधि र सामग्री नभएकाले बेहुली शृंगारमा प्रतिस्पर्धा नभएको स्मरण सुनाउँदै भनिन्, ‘आजकाल बेहुली पनि शृंगारमा राम्रो हुनुपर्ने प्रचलन बढेकाले यस्ता प्रतियोगिताले ब्युटिसियनलाई बेहुली शृंगारमा दक्ष र सफल बनाउन मद्दत पु¥याउँछ ।’
बिजेताको ताज पहिरिन सफल पोख्रलले केही नयाँ काम गरौं भन्ने मनशायले बिगत १५ बर्षदेखि यो क्षेत्रमा लगानी गरेको बताइन् । देशभित्रै रोजगारीका अवसर सिर्जना गर्ने र सर्वसुलभ रुपमा गुणस्तरीय सेवा उपलब्ध गराउने उदेश्यका साथ शैलुन सञ्चालन गरेको उनको भनाई थियो ।
नेपालको सौन्दर्य क्षेत्रमा महिला जत्तिकै पुरुषको पनि सहभागिता र लगाव हुन आवश्यक भएको र त्यसमा उत्प्रेरकको भूमिका निर्वाह गरिरहेको बताउने लक्ष्मीले  पूरुष र महिला सबैका लागि मेकअप गर्दै आइरहेकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस